देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रसंघ महासचिव गुटेरेस नेपालमा, आजै उच्चस्तरिय भेटघाट गर्ने

0

काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।

आइतबार बिहान १ बजे नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए। महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए । पोर्चुगलका पूर्वप्रधानमन्त्री रहेका गुटेरेसको महासचिवका रूपमा यो दोस्रो कार्यकाल हो ।

आइतबार दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जानेछन् भने त्यहाँबाट फर्केपछि प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सरिक हुनेछन् ।

कात्तिक १३ गते सोमबार महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम छ । त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ । कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन् ।

लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन् । कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको छ ।

राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्त्वका साथ हेरिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार