देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

0

काठमाडौं – राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

आगामी निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन्।

प्रवक्ता शर्माका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी,  राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन्।

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने जानकारी दिइएको छ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि आजसम्म दल दर्ताका लागि समयावधि प्रदान गरेको थियो। प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ। उक्त निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। सोही दिनदेखि निर्वाचन आचारसंहित सबैका लागि लागू गराउने आयोगले सोच बनाएको छ। रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार