देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय जलश्रोत नीति २०७७ सार्वजनिक

0

काठमाडौं – सरकारले पहिलोपटक राष्ट्रिय जलश्रोत नीति २०७७ सार्वजनिक गरेको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमानले बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा नीति सार्वजनिक गर्दै बृहत अन्तरक्रियाबाट पहिलोपटक राष्ट्रिय जलस्रोत नीति निर्माण गर्न सफल भएको बताए ।

जलस्रोत नीतिले प्राकृतिक सम्पदालाई कसरी सदुपयोग गर्न सक्छौं र भोलिको दिनमा कसरी पुस्तान्तरण गर्न सक्छौं भन्ने कुरालाई अवलम्बन गरेको मन्त्री पुनले बताए । संविधान जारी भएपछि जलस्रोतको उपयोग तीनवटै तहबाट गर्ने संवैधानिक व्यवस्था भए अनुसार नै नीति तयार पारिएको पनि मन्त्री पुनले बताए ।

जलश्रोतको उपयोगसँग सम्बन्धित खानेपानी, सिँचाइ, विद्युत, जलउत्पन्न विपद व्यवस्थापनका फरक–फरक नीति भए पनि एकीकृत नीति थिएन । २० पृष्ठ लामो नीतिले जलश्रोतको बहुआयामिक तथा दिगो विकास र बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको मूल उद्देश्य लिएको छ ।

मन्त्री पुनले पानीको उपयोग, संरक्षण, नियन्त्रण र नियमन सम्बन्धी एकीकृत नीतिको अभाव रहेकाले जलश्रोत नीति ल्याइएको बताए । जलश्रोतको उपयोग तथा संरक्षण गरी भावी सन्ततिलाई हस्तान्तरण गर्ने उद्देश्य नीतिले लिएको जानकारी उनले दिए ।

नीतिले सुखी नेपाली, समृद्ध नेपालको सरकारको अभियानमा सघाउने विश्वास मन्त्री पुनको छ । यस्तै संविधानले व्यवस्था गरेका तीनवटै सरकारले उपयोग गर्ने र तीनवटै सरकारले संरक्षण गर्ने विषयलाई नीतिले जोड दिएको उल्लेख गरे । नीतिअनुसार अबदेखि पानीको उपयोग गर्नेले नै संरक्षणको दायित्व निर्वाह गनुपर्ने स्पष्ट व्यवस्था गरिएको उनले चर्चा गरे ।

आर्थिक सामाजिक तथा वातावरणीय पक्षमा पर्न सक्ने नकारात्मक प्रभाव न्यून हुनेगरी जलस्रोतको विकास र उपयोग गर्ने र जलउत्पन्न विपद्को न्यूनीकरण एवं प्रभावकारी व्यवस्थापन गरी क्षति न्यूनीकरण गर्ने उद्देश्य समेत राष्ट्रिय जलस्रोत नीतिले लिएको छ ।

यसबाहेक राष्ट्रिय जलस्रोत नीति २०७७ ले विभिन्न ११ वटा रणनीतिहरु समेत तय गरेको छ । जल तथा ऊर्जा आयोगका सचिव सागरकुमार राईले वातावरणीय, सामाजिक र सांस्कृतिक सन्तुलन नखलबल्याउने गरी पानीको प्रयोग गर्ने विषय नीतिमा समेटिएको जानकारी दिए । नीतिले जलश्रोतको उपयोग गरी मुलुकलाई कसरी समृद्ध बनाउने भन्नेबारे स्पष्ट मार्गचित्र प्रस्तुत गरेको सचिव राईको भनाइ थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार