देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय सभाकी उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच भर्चुअल संवाद

0

(काठमाडौं) – राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले बिहीबार सात वटै प्रदेशसभाका उपसभामुखसँग भर्चुअल संवाद गरेकी छन् । संवादमा प्रदेश सभाका उपसभामुखहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारका लागि सम्बन्धित प्रदेश सरकारले गरिरहेका कार्य, प्रदेश सभाको समन्वय र संघीय संसदमार्फत संघीय सरकारलाई सुझावहरु दिएका छन् ।

भिडियोमा संवादमामा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेश १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश २ का उपसभामुख उपमा कुमारी देव, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, प्रदेश ५ का उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले आ–आफ्नो धारणा राखेका थिए ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले प्रदेश सरकारसँग समन्वय गरेर कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि योगदान गर्न सुझाव दिएकी छन् । संघीय सरकार, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग नजिकमा रहेर काम गर्नुपर्ने भन्दै उनले विपत्का बेलामा पनि प्रदेश सभा सञ्चालन लगायतका विषयमा दलीय सहमति जुटाएर काम गनुपर्ने बताईन ।

प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले खुला सीमाकका कारण संक्रमितहरु नेपाल प्रवेश गर्नेे खतरा बढेको भन्दै सीमामा कडाई गर्न संघीय सरकारको ध्यानाकर्षण गराईन । लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने, तर लकडाउनका कारण समस्या परेकाहरुको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने उनले बताईन ।

प्रदेश २ का उपसभामुख उपमा कुमारी देवले कोरोना संक्रमणविरुद्ध लड्न सवैको साथ बराबर हुनुपर्ने बेलामा समन्वयको अभाव देखिएको गुनासो गरिन् । बागमती प्रदेशका उपसभामुख राधिका तामाङले कोरोना संक्रमणको परीक्षणलाई तीब्रता दिनुपर्नेमा जोड दिईन । उनले भनिन्, ‘अहिलेको अवस्थामा परीक्षण गर्दा लामो समय लाग्न सक्दछ । सम्भावित व्यक्तिको परीक्षण सकिएपछि मात्रै ढुक्क हुने अवस्था आउन सक्छ ।’

उपसभामुख तामाङले लकडाउनको आवश्यकता अझै बोध हुन नसकेको भन्दै जनचेतनाको अभाव देखिएको बताईन । संघीय सरकारले बनाएको कार्यविधि अनुसार तीन तहको सरकारबीच समन्वयको अभाव देखिएको उनले बताईन । खाद्यान्न आपूर्ति भइरहे पनि आपूर्तिका क्रममा सुरक्षा सावधानी नअपनाइएको गुनासो गरिन ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले विदेशबाट आउनेलाई अझै कडाई गर्ने र आइसकेकालाई क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने कुरामा जोड दिईन । प्रदेश ५ का उपसभामुख कृष्णी थारुले कोरोना संक्रमणबा लागि सजगता अपनाएको जानकारी दिइन । पूर्वतयारी स्वरुप प्रदेशका चार वटा सुविधा सम्पन्न अस्पतालको व्यवस्था गरिएको उनले बताईन ।

यस्तै, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्टले वडामार्फत राहत वितरणको काम हुँदा प्रभावकारी भइरहेको जानकारी गराईन । लकडाउनका अवधिमा पनि कोरोना परीक्षणलाई तीब्र बनाउनुपर्ने भन्दै उनले संक्रमित अब छैनन् भनेर आम सर्वसाधारणलाई ढुक्क बनाउनुपर्ने धारणा राखिन् ।

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले खुला नाकाका कारण सुदूरपश्चिम प्रदेश ‘जोखिम प्रदेश’का रुपमा रहेको बताईन । भारतबाट जंगलको बाटो हुँदै, नदी हुँदै, लुकेर नेपाल प्रवेश गर्नेहरुका कारण संक्रमणको जोखिम बढेको उनले बताईन । सुदूरपश्चिमका पहाडी जिल्लामा चिकित्सकको अभाव रहेकाले तत्कालै चिकित्सक पठाउन जरुरी रहेको भन्दै उनले मेडिकल सामग्रीको अभाव तत्कालै अन्त्य गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैशाख १ गते राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतकसँगै विषयगत समितिका सभापतिहरुसँग पनि भर्चुअल संवाद गरेका थिए । यस्तै, बैशाख ३ गते सात वटै प्रदेशका सभामुखसँग भिडियो संवाद गरेका थिए । भिडियो संवादबाट प्राप्त सुझावलाई प्रतिवेदनका रुपमा सरकार समक्ष पेस गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार