देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका सिटौला र श्रेष्ठको दौडधुप

0

काठमाडौं – राष्ट्रिय सभाको अध्यक्ष बन्न कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन् ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने ६ सदस्यीय परिषद्को सदस्यसमेत रहने भएकाले विशेष रुचि राख्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवा भने दुई जनामध्ये कसलाई अघि बढाउने भन्नेमा मौन छन् । निर्वाचनपछि मात्रै देउवाले औपचारिक रूपमा मुख खोल्ने उनीनिकट नेताहरू बताउँछन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनासहित २० सांसदको अवधि आगामी फागुन २० बाट सकिँदै छ । म्याद सकिनुभन्दा एक महिनाअगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधानबमोजिम रिक्त स्थान पूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदै छ । अध्यक्ष बन्नकै लागि श्रेष्ठ र सिटौलाले राष्ट्रिय सभामा सांसद हुने चाहना राखेका छन् । २० सांसदमध्ये १९ जना निर्वाचनबाट र १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।

संविधान जारीपछिका दुई संसदीय निर्वाचनमा पराजय बेहोरेका सिटौलाले जीवनको उत्तरार्द्धमा सक्रिय राजनीतिबाट सम्मानजनक बहिर्गमन खोज्दै आएका छन् । त्यसका लागि राष्ट्रिय सभा अध्यक्ष उपयुक्त अवसर भएको भन्दै उनीनिकट नेताहरूले समेत सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्न सुझाउँदै आएका हुन् ।

१९ सिटका लागि हुने निर्वाचनमा सत्तारूढ दलहरूले चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । तर, सिट भागबन्डाको विषयमा आगामी सातादेखि छलफल हुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । उनका अनुसार सत्तारूढ दलबाट रिक्त हुने संख्या कायम राखेर प्रमुख प्रतिपक्ष एमालेको सिटमा भागबन्डा हुनेछ । राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १ र स्वतन्त्र १ गरी १९ पद रिक्त हुँदै छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेकी विमला राई पौड्याल एमाले नेतृ हुन् । उनको समेत गर्दा एमालेबाट रिक्त हुने ९ सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने गरी अनौपचारिक छलफल भइरहेको छ ।

कांग्रेस महामन्त्री शर्मा सरकारको नेतृत्व माओवादीले गरेको, प्रतिनिधिसभामा एमालेबाट सभामुख रहेको अवस्थामा शक्ति सन्तुलनको हिसाबले पनि संवैधानिक परिषद्मा कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पाउनेमा शंका नभएको बताउँछन् । ‘प्राकृतिक रूपमै कांग्रेसले अध्यक्ष लिन्छ,’ उनले भने । पार्टीको आन्तरिक शक्ति संघर्षमा फरक कित्तामा उभिए पनि महामन्त्री शर्मा यस पटक सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन सकारात्मक देखिएका छन् । ‘सिटौला दाइ आफैंले इच्छा राख्नु होला भन्ने मलाई लागिरहेको छैन, तर आउन चाहनुहुन्छ भने म उहाँको पक्षमा उभिन्छु । मेरो प्रस्ट र पूर्ण समर्थन हुनेछ,’ शर्माले भने, ‘शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको र त्यसैको बाँकी काम पूरा गर्ने भूमिकामा समेत जोडिने गरी राष्ट्रिय सभाको अध्यक्ष हुनु विल्कुलै सकारात्मक कुरा हो । उहाँले चाहना राख्नु भएन भने पनि हामीले ल्याउने कोसिस गर्नुपर्छ ।’

दोस्रो संविधानसभामा मस्यौदा समितिका संयोजकसमेत रहेका सिटौला त्यसपछि भएका ०७४ र ०७९ को संसदीय निर्वाचनमा पराजय भएपछि उनको राजनीति यात्रामा ठूलो धक्का पुर्‍याएको थियो । पार्टीभित्रै पनि सिटौला शक्तिहीन बन्दै गएका छन् । तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि १३ औं महाधिवेशनमा सभापतिको प्रत्याशी भएर सिटौलाले पार्टीभित्र तेस्रो धारको बीजारोपण गरेका थिए । संसदीय निर्वाचनको हार र प्रभावशाली युवा नेताहरू महामन्त्री गगन थापा र केन्द्रीय सदस्य प्रदीप पौडेलको साथ पाउन छाडेपछि सिटौला नेतृत्वको तेस्रो धारको अस्तित्व संकटमा पर्दै आएको छ । तर थापा र पौडेल पनि सभापति देउवासँगको सहकार्यमा अघि बढ्न थालेपछि सिटौलाको साथ छोडे ।

एक वर्षअघिको संसदीय निर्वाचनबाट पराजित हुनासाथ सिटौला राष्ट्रपति बन्ने दौडधुपमा पनि लागे । तर सत्ता गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने सहमत भएपछि सिटौलाले हात झिके । सिटौलानिकट पूर्वमन्त्री भीमसेन दास प्रधान त्यतिबेलै सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन आश्वासन दिइएको दाबी गर्छन् । प्रधानले भने, ‘तर पार्टीको केन्द्रीय कार्यसमिति वा पदाधिकारी बैठक बसेर निर्णय गर्नुपर्छ । तत्कालै निर्णय भएन भने धेरैको चलखेल हुन सक्छ । निर्णय गर्दा सबैको प्याकेजमै निर्णय होस् भन्ने चाहना उहाँमा छ ।’

सिटौलानिकट उद्धव थापाका अनुसार राष्ट्रिय सभाको अध्यक्षका लागि सिटौलाले आफ्नो समूहमा रहेका नेताहरूसँग छलफल गरिरहेका छन् । ‘सिटौला दाइ अहिले सरसल्लाहमै हुनुहुन्छ । अहिलेको राजनीतिक परिस्थिति, संविधान कार्यान्वयनमा चुनौती, राजनीतिक दलहरूबीच गर्नुपर्ने समन्वयात्मक भूमिकाका लागि उहाँ जतिको मान्छे अरू हुन सक्दैन । सबैको सोच पनि उहाँ नै हुनुपर्छ भन्नेमा छ । माओवादीको पनि समर्थन छ ।’ कोशी प्रदेश कांग्रेसका सभापतिसमेत रहेका थापाले भने, ‘हामीजस्तै सहयोगी र शुभचिन्तकसँग सल्लाह मागिरहनुभएको छ । हामीले तपाईं जतिको मान्छे बाहिर बस्नभन्दा जान राम्रो हुन्छ भनेर सुझाव दिएका छौं । उहाँको पनि इच्छा त्यस्तै छ ।’

अध्यक्षकै लागि भनेर पार्टीका पूर्वउपसभापति समेत रहेका गोपालमान श्रेष्ठले लबिइङ गरिरहेका छन् । श्रेष्ठ समानुपातिकबाट सांसद हुन नसकेपछि राष्ट्रिय सभामा आउन लागेका हुन् । उनको नाम समानुपातिक सूचीमा आदिवासी जनजाति क्लस्टरमा एक नम्बरमा थियो । तर सभापति देउवाले खसआर्यबाट प्रकाशरण महतलाई बनाएपछि श्रेष्ठ प्रतिनिधिसभाको सांसद हुने रिङबाट बाहिरिए । राष्ट्रिय सभा अध्यक्ष हुनकै लागि उनले दुई महिनाअघि समानुपातिक सूचीबाट आफ्नो नाम पनि हटाएका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म नाम हटाएमा समानुपातिक सूचीमा रहेकाहरू पनि राष्ट्रिय सभाका सदस्यका लागि उम्मेदवार बन्न सक्नेछन् । समानुपातिक सूचीबाट नाम हटाउन पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयसहित आयोगमा पत्र पठाउनुपर्छ । ‘प्रदेश र प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेको कुनै पनि व्यक्ति नाम नहटाएसम्म वडाको उम्मेदवार पनि हुन पाउँदैन । एउटै व्यक्ति दुईतिर उम्मेदवार हुन पाइँदैन भन्ने संवैधानिक व्यवस्था नै छ,’ थपलियाले भने, ‘राष्ट्रिय सभामा उम्मेदवार हुन आकांक्षीहरू अहिले भकाभक सूचीबाट नाम हटाउन आउनुभएको छ ।’

श्रेष्ठले पार्टी फुट्दा र शाही आयोगले पक्राउ गरेर जेलमा राखेका अप्ठ्यारो दिनमा पनि देउवालाई काँध थापेर साथ दिएको तर्क गर्दै राष्ट्रिय सभाको अध्यक्षमा आफूलाई पार्टीले लैजाने विश्वास गर्छन् । ‘०४८ सालदेखि संसदीय अनुभव छ । संविधानसभाको दुई–दुई चोटिको अनुभव छ । भिजन छ । काम गर्ने इच्छा शक्ति छ । स्वस्थ छु । रोगी छैन,’ उनले कान्तिपुरसँग भने, ‘यसका लागि मेरो अर्जुन दृष्टि पनि छ, मेरो प्रतिस्पर्धीमा पार्टीबाट अरू देखेको छैन । सभापतिजीले विवेक पुर्‍याउनुहुन्छ भन्ने लाग्छ ।’

पार्टीभित्रै एकथरी नेताहरू संघीय संसद्मा अल्पसंख्यक मुस्लिमको प्रभावपूर्ण प्रतिनिधित्व नभएकाले पार्टीका सहमहामन्त्रीसमेत रहेका फरमुल्ला मन्सुरलाई राष्ट्रिय सभामा ल्याएर अध्यक्ष बनाउनुपर्ने तर्क अघि सारेका छन् । गठबन्धनका कारण टिकट नपाएपछि मन्सुर समानुपातिक सूचीमा थिए । उनको पनि समानुपातिकबाट सांसद हुन वञ्चित बनाएपछि राष्ट्रिय सभामा लैजानुपर्ने मत छ । तर, मन्सुर भने राष्ट्रिय सभाको अध्यक्ष हुन श्रेष्ठ र सिटौला अघि सरेमा आफ्नो समर्थन दुईमध्ये जुन भए पनि हुने बताउँछन् । ‘उहाँहरू दुई जना अघि बढ्नुभयो भने म छाड्छु । मेरो चाहना उहाँहरूमध्ये एक जना होस् भन्नेमै रहन्छ,’ उनले भने, ‘तर पार्टीमा ठोस रूपमा यस विषयमा छलफल भने भइसकेको छैन ।’ कान्तिपुर दैनिक

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार