देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय सभा सदस्यको मतदान बिहीबार

0

(काठमाडौं) – राष्ट्रियसभाका एक तिहाई सदस्यको लागि भोलि (बिहीबार) मतदान हुँदैछ । सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा तोकिएको मतदान केन्द्रमा भोलि बिहान १० देखि अपरान्ह ४ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै मतदानस्थल तोक्नेलगायतका व्यवस्थापकीय काम पूरा भएको जानकारी दिएको हो । मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापकीय काम सकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभार फरक/फरक रहेकाले आयोगले मतपत्र पनि फरक/फरक बनाएको छ ।

प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवन, वागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदानस्थल तोकिएको छ ।

प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको छ ।

प्रदेश सभा सदस्यको मतपत्रमा हरियो मसीको प्रयोग गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि मतपत्रमा रातो मसीको प्रयोग गरिएको श्रेष्ठले बताए । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ ।

प्रदेश १ मा ३ जना, प्रदेश २ मा ४ जना, वागमती र गण्डकी प्रदेशमा २/२ जना, प्रदेश ५ मा ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २/२ जना गरी १८ सदस्यको निर्वाचन हुँदैछ । प्रदेश सभाका ५ सय ५० र स्थानीय तहका एक हजार ५ सय ६ गरी दुई हजार ५६ जना मतदाता छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार