देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रासायनिक मल ल्याउँदा एक अर्ब भ्रष्टाचार

0

काठमाडौं – गत वर्ष रासायनिक मल आपूर्ति गर्दा एक अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक, गुणस्तर प्रमाणित गर्ने कम्पनी र ठेकेदारविरुद्धसमेत गरी १२ जनाविरुद्ध आयोगले आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।

गत वर्ष १९ हजार चार सय ३३ मेट्रिक टन डिएपी मल खरिद तथा आपूर्ति गर्दा सो परिमाणको रकमबराबर भ्रष्टाचार भएको आयोगको अभियोगपत्रमा उल्लेख छ । सम्झौता गरिएको स्पेसिफिकेसनमा तोकिएभन्दा न्यून गुणस्तरको रासायनिक मल आयात गरेर त्यसका आधारमा भुक्तानी दिइएको एक अर्ब ५३ लाख २२ हजार रुपैयाँ रकमलाई बिगो कायम गरेर आयोगले अदालतमा मुद्दा दायर गरेको हो । आयोगले यस प्रक्रियामा संलग्न संस्थान, गुणस्तर प्रमाणित गर्ने कम्पनी र ठेकेदार सबैविरुद्ध मुद्दा दायर गरेको छ । रासायनिक मल खरिद प्रकरणमा आयोगले करिब सात महिना लामो छानबिन गरेर आइतबार अदालतमा मुद्दा दायर गरेको हो । ठेकेदारले ल्याएको मल अहिले प्रयोग भएर पनि सकिएको छ ।

अख्तियारले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उपप्रबन्धक पुष्करदीप बुढासहित कृषि सामग्री कम्पनीका चारजनाविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

फरक गुणस्तरको मललाई स्पेसिफिकेसनमा तोेकिएबमोजिमकै मल भनेर गलत प्रतिवेदन तयार गर्ने नेपाल इन्भायर्मेन्टल एन्ड साइन्टिफिक सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, प्रयोगशाला निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी, उक्त संस्था र कृषि सामग्री कम्पनीबीच संस्थाका तर्फबाट सम्झौता गर्ने मनोज आचार्य र संस्था स्वयंविरुद्ध मुद्दा दायर गरिएको छ । कम्पनीको स्वीकृत स्पेसिफिकेसनको गुणस्तरभन्दा कम गुणस्तरको डिएपी मल आपूर्ति गर्ने आपूर्तिकर्ता जोशी बीज हाउस प्रालि र त्यसका कार्यकारी निर्देशक विनीत जोशीलाई पनि अभियुक्त बनाएर आयोगले मुद्दा दायर गरेको छ ।

यसरी भएको थियो मल आयातमा अनियमितता 
देशमा मलको अभाव टार्न कृषि सामग्री कम्पनी लिमिटेडले सार्वजनिक बोलपत्र आह्वान ग¥यो । सार्वजनिक खरिद प्रक्रियाबमोजिम बोलपत्रमा सहभागी भएको जोशी बीज हाउस प्रालिले ठेक्का पायो । कम्पनीले बीज हाउससँग मल आपूर्तिको सम्झौता ग¥यो । संस्थानले तोकेको गुणस्तरअनुसारको मल आयात गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको थियो ।

सम्झौताको स्पेसिफिकेसनअनुसार मल आयात भए/नभएको हेरी गुणस्तर प्रमाणित गर्ने कम्पनीसहितको त्रिपक्षीय मिलेमतोमा भ्रष्टाचार भएको आयोगले औँल्याएको छ । कम मूल्यको न्यून गुणस्तरयुक्त मल आपूर्ति गरेर त्यसबाट आएको नाफा बाँडफाँड गर्ने पूर्वयोजनाबमोजिम संस्थानले ठेकेदारसँग सम्झौता गर्ने, न्यून गुणस्तरयुक्त मललाई स्पेसिफिकेसनअनुसारकै भनेर गुणस्तर प्रमाणित गर्न लगाउने र ठेकेदारले त्यही मल आपूर्ति गरेर भुक्तानीसमेत लिई भ्रष्टाचार गरिएको आयोगको ठहर छ ।

कतिसम्म भने, गुणस्तर प्रमाणित गर्ने संस्थासँग संस्थानले गरेको सम्झौता नै गलत छ । रासायनिक मल (नियन्त्रण) आदेश, २०५५, एवं सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ विपरीत विनाप्रतिस्पर्धा सर्भेयरको सूचीमा अद्यावधिक नभएको स्वतन्त्र सर्भेयर नेपाल इन्भायर्मेन्टल एन्ड साइन्टिफिक सर्भिसेज प्रालिसँग सम्झौता गरी गलत प्रतिवेदन दिन लगाएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

तर, आयात गरी ल्याइएको मल न्यून गुणस्तरको भएको उजुरी परेपछि आयोगले गुणस्तर तथा नापतौल विभागमार्फत आपूर्ति भएको मलको गुणस्तर परीक्षण गरेको थियो । ठेक्काबाट ल्याइएको मलको नमुना परीक्षण गर्दा स्पेसिफिकेसनअनुसार अधिकतम १.५ प्रतिशत हुनुपर्ने ‘मोइस्चर’ १२.४, न्यूनतम १८ प्रतिशत हुनुपर्ने नाइट्रोजन १४.२, न्यूनतम १७ प्रतिशत हुनुपर्ने ‘एम्मोनियकल नाइट्रोजन’ १३.६, न्यूनतम ४६ प्रतिशत हुनुपर्ने फोस्फरस ४५.१ र न्यूनतम ४१ प्रतिशत हुनुपर्ने ‘वाटर सोलुएबल फोस्फेट्स’ ३३.१ प्रतिशत मात्र पाइएको थियो ।

‘नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट उक्त मल तोकिएको स्पेसिफिकेसनभन्दा कम गुणस्तरको रहेको देखियो,’ आयोगले अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ । कम्पनीले तयार गरेको स्पेसिफिकेसनबमोजिम नै गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन बनाई भन्सार नाका तथा कृषि सामग्री कम्पनी लिमिटेडमा पेस गरिएको थियो । यही गलत प्रतिवेदनका आधारमा संस्थानले आपूर्तिकर्ता कम्पनी जोशी बीज हाउस प्रालिलाई सम्झौता रकमको ९० प्रतिशतले हुन आउने एक अर्ब ५३ लाख २२ हजार रुपैयाँ भुक्तानी दिएको थियो । आयोगले भनेको छ, ‘कृषि सामाग्री कम्पनी लिमिटेडलाई हानि–नोक्सानी र आफूसमेतलाई गैरकानुनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि हुन आयो ।’ नयाँपत्रिका दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार