देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रुकुम घटनाबारे छानबिन गर्न विशेष समिति गठन हुने

0

(काठमाडौं) – रुकुम पश्चिमको चौरहजारी नगरपालिकामा भएको ६ जना युवाको हत्याको विषयमा छानविन गर्न संसदले विशेष समिति बनाउने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो घटना बारे छानबिन गर्न विशेष समिति बनाउने बताएका हुन् ।

शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर छलफल गर्नुपर्ने माग गरेलगत्तै सभामुख सापकोटाले राजनीतिक दलहरुसँगको छलफलपछि समिति बनाउने बताएका हुन् ।

सांसद भुषालले छानविन गर्न संसदले विशेष समिति गठन नगरेसम्म बैठक सञ्चालनमा सहयोग नगर्ने बताएपछि कांग्रेस सांसद आफ्नो कुर्सीबाट उठेका थिए ।

लगत्तै सभामुख सापकोटाले बैठक अवरुद्ध नगर्न आग्रह गर्दै समिति बनाउन राजनीतिक दलहरुसँगको छलफल गरेर निर्णय गर्ने बताए । अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर यही जेठ १० गते भएको रुकुम पश्चिममा भएको घटनामा ६ जना युवाहरूको हत्या भएको थियो ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए ।

यो घटनामा मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार