देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रुकुम घटनामा २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

0

(रुकुम) –  रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले चौरजहारी नगरपालिका वडाध्यक्ष नम्बर ८ का डम्बर बहादुर मल्लसहित २३ जना प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो । तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश भएको छ ।

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएकी किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जनाकारी दिए ।

तीन जना प्रतिवादी तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ । घटनामा संलग्न २ नाबालकलाई यसअघिकै आदेशले बाल सुधारगृहमा पठाइसकिएको छ ।

कारागार चलान हुनेमा वडाध्यक्ष मल्लसहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६ (१) र (३) तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल रहेको श्रेष्तेदार बोहराले बताए ।

इर्दबहादुर भनिने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन् ।

गत आइतबार हत्याकाण्डमा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । वादीको तर्फबाट ५ जना सरकारी वकिलले, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट ७ गरी ३२ जना वकिलले बहस गरेका थिए ।

जिल्लाको चौरजहारी नगरपालिका –८ सोतीमा गत जेठ १० गते भएको घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक जनाको ज्यान गएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यलयले ३४ जनाविरुद्ध जन्मकैद देखि आजीवन कारावास सम्मको कैद सजायको माग दावी गर्दै मुद्दा दर्ता गराएको थियो ।

अन्तरजातीय बिहे गर्ने प्रयास गरेको भन्दै नवराज विक र उनका साथीहरुमाथि गाउँलेले आक्रमण गरी उनीहरुको शव भेरी नेदीमा फालेको थियो । नवराजको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार