देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लकडाउनको जटिलता न्यून बनाउन सरकारलाई कांग्रेसको १२ बुँदे सुझाव

0

(काठमाडौं) – नेपाली कांग्रेसले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै एक हप्ताको लागि देशभर लकडाउन गर्ने सरकारको निर्णय सकारात्मक भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै लकडाउनलाई पूर्ण रुपले पालना गर्न सबैलाई अनुरोध समेत गरेका छन् । लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापनका लागि सहज रुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्था गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

लकडाउनको अवधि ७ दिनबाट लम्बिन पनि सक्ने भन्दै विपन्न, विद्यार्थी र बेरोजगारका लागि विशेष राहत प्याकेज ल्याउन सरकारलाई कांग्रेसले आग्रह गरेको छ । कांग्रेसले क्वारेन्टाइन र आइसोलेसनमा लापरबाहीको स्थिति बन्न नदिन ध्यानाकर्षण गराएको छ ।

विषम परिस्थितिमा एकजुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न कांग्रेसले सबैमा अपील गरेको छ । लकडाउनको अवधिमा हुने या हुनसक्ने एकएक जटिलतालाई सहज बनाउने दिशामा सरकारले आफ्नो सम्बन्धित संयन्त्रहरुको ब्यवस्थित र प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता रहेको भन्दै प्रवक्ता शर्माले सरकारको ध्यानाकर्षण गराएका छन् ।

जटिलता न्यून बनाउन सरकारलाई कांग्रेसको १२ बुँदे सुझाव
१. लकडाउनको अवधि ७ दिनबाट लम्बिन पनि सक्छ, त्यस्तो स्थितिमा दिनभरि काम गरेर माम जुटाउने वर्गको चुल्हो यो लकडाउनले पुरै लक गर्न सक्छ । अतः सरकारले चुनौतीपूर्ण आर्थिक जीवन भोगिरहेको वर्गका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिस्चित गर्न तत्काल ध्यान पुऱ्याउनु पर्दछ ।

२. लकडाउनको अवधि लम्बिए विद्यार्थी र बेरोजगारको घनत्व धेरै रहेको राजधानी लगायतको मुख्य शहरी क्षेत्रमा डेरा गरेर बसेका युवाहरुको स्थितिमा जटिलता उत्पन्न हुन जानेछ । सरकारको सम्बन्धित निकायले बेरोजगार र विद्यार्थीहरुका लागि विशेष राहत योजना अविलम्ब निर्माण गरेर यस्तो स्थिति सामना गर्न सघाउ पुऱ्याउनु पर्दछ ।

३. जोखिमसंग जुध्न दैनिक रूपमा सहि सूचना र तथ्यहरु सम्प्रेषण गर्ने कार्यमा सरकारले एकद्वार प्रणाली तत्काल निस्चित गर्नुपर्दछ । जसले नागरिक पंक्तिमा निरन्तर ढाडस सँगै उच्च मनोबलको साथ रहनेछ । समुदायले सतर्कता राख्दै साथ दिएर यो संघर्षलाई सफल बनाउनु छ ।

४. खाद्यान्न, पानी,अन्य रोगका औषधि एवं ग्यास, मट्टीतेल लगायतको अभाव असहजता हुनसक्ने स्थिति आउन नदिन संघीय सरकारले तिनै तहको सरकारबीच उचित समन्वय साथ सुलभ स्थिति बनाउन र नागरिकलाई निरन्तर आश्वस्त बनाउन जरुरी छ । जोखिममुक्त ढंगले खरिद बिक्री गर्ने भरपर्दो सुनिस्चितता मिलाउन अत्यावश्यक छ ।

५. आजदेखि होम क्वारेन्टाइनमा बसेका जो कसैलाई पनि कोरोना सम्बन्धी निस्चित लक्षण देखिए सम्पर्क कहाँ गर्ने, तिनलाई अस्पताल कसरी कहाँ पुर्याइने र उपचार प्रक्रियाको सहजता के हुने, जस्ता अन्यौल सरकारले सार्वजनिक सूचना मार्फत यथाशीघ्र चिर्न जरुरी छ ।

६. आजको विश्वब्यापी महामारी संसारले स्वास्थकर्मीहरुको नेतृत्वमा लडिरहेको छ । अतः स्वास्थकर्मीहरुको उच्च मनोबल राख्न राज्य, राजनीतिक दल एवं सिंगो समाजको विशेष ध्यान र साथ पुग्न जरुरी छ । विश्व स्वास्थ संगठनले नेपाल जोखिममा रहेको सूचना दिएको महीना दिन पुगिसक्दा पनि पर्याप्त पीपीई प्रबन्ध नगरिनु सरकारको गम्भीर लापरबाही हो । यथाशीघ्र आयात गर्ने कार्यमा सरकारको गम्भीर भूमिका अपेक्षा गर्दछौं ।

७. परीक्षण कीटको अभाव हुनसक्ने स्थिति आउन नदिन आपतकालीन ढंगले जोहो गर्न अपिल गर्दै जिल्लाहरुबाट परिक्षणका लागि नमूना केन्द्रमै पठाउनुपर्ने अवस्था अन्त्य गर्न र कम्तीमा ७ प्रदेशको ७ ठाउँमा वैकल्पिक प्रयोगशाला प्रबन्ध गरेर परिक्षण सहज बनाउन सरकारसंग आग्रह गर्दछौं ।

८. लकडाउनले सबै थरी ब्यवसायलाई गम्भीर असर पुग्ने स्थिति दृष्टिगत गरेर सरकारले ब्यवसायीको बैंकिङ ब्याज घटाउने र किस्ता तिर्ने समयावधि लम्ब्याउन समन्वयको भूमिका यथाशीघ्र निर्वाह गर्नुपर्दछ ।

९. बेरोजगारीको पीडा अलग छंदै थियो, मौजुदा प्रतिकूल स्थितिमा विविध क्षेत्रमा रोजगारीमा रहेकाहरुको पनि काम बन्द हुँदा रोजगारदातासँग नवीन प्रकृतिको द्वन्द्व सृजना हुँदै गएको छ । यस्तो स्थितिको निकासमा सरकारको अभिभावकिय भूमिका मार्फत ब्यक्ति र प्रतिष्ठान दुबैको हितमा समाधान तय गर्न जरुरी छ ।

१०. कोभिड १९ प्रतिकूलताका कारण साप्ताहिक पत्रिकाहरु सामूहिक सूचनाका साथ तत्कालका लागि प्रकाशन स्थगनमा गएका छन् । अन्य प्रकाशनमा पनि यस्तै स्थिति उत्पन्न हुन सक्दछ । अतः नागरिकलाई सुसूचित गर्ने राज्यको चौंथो अंग सञ्चार माध्यम एवं पत्रकारलाई विविध ढंगले प्रोत्साहित, सुरक्षित र संरक्षण गर्ने कर्तव्य यस्तो बेलामा राज्यले निभाउनु पर्ने आवश्यकता औंल्याउँदछौं ।

११. प्रदेश ५ को बाँकेमा एक क्वारेन्टाइनबाट हतास मनस्थितिमा नागरिक बाहिरएको र राज्यले स्नेहपूर्वक नियन्त्रणमा राख्न नसकेको घटनाबाट शिक्षा लिंदै लकडाउनको अवधि एवं सम्भावित अन्य क्वारेन्टाइन र आइसोलेसनमा त्यस्तो लापरबाहीको स्थिति बन्न नदिन विशेष सावधानीको अपिल गर्दछौं ।

१२. एकातर्फ हामी पूरै देश लकडाउनमा गएका छौं भने अर्कातर्फ लाखौं नेपाली विदेशी भूमिमा लक्ड स्थितिमा छन् । तिनको अभिभावक मुलत मातृभूमि नेपाल नै हो । सरकारले विविध माध्यमबाट प्रवासी नेपालीको सहजताका लागि भूमिका निर्वाह गर्न जरुरी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार