देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लगानी बोर्डमा चार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश

0

काठमाडौं – लगानी बोर्डले सहजीकरण गरिरहेकामध्ये चार वटा ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले सम्बन्धित परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेश गरेका छन् ।

विकासकर्ता कम्पनी फ्ल्यास फ्राइट लजिस्टिक एन्ड इन्टरनेसनल कार्गो प्रालिले पर्साको वीरगञ्ज र रुपन्देहीको भैरहवामा निर्माण हुने प्राइभेट फ्राइट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटिज परियोजनाको लागि मंगलबार विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरेको छ । सो परियोजनाका लागि लगानी बोर्डको कार्यालय र विकासकर्ता कम्पनी फ्ल्यास फ्राइट लजिस्टिक एन्ड इन्टरनेसनल कार्गो प्रालिबीच २०७६ मंसिर १५ मा समभदारीपत्रमा हस्ताक्षर भएको थियो ।

विराटनगरमा निर्माण हुने मल्टी मोडल लजिस्टिक पार्क परियोजनाको विकासकर्ता कम्पनी सिजी लजिस्टिक र सर्राफ समूहले पनि परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डको कार्यालय समक्ष पेश गरेका छन् । बोर्डको कार्यालय र कम्पनीहरु विकासकर्ता कम्पनीबीच २०७६ असार २ मा यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

झापाको दमकस्थित नेपाल–चीन मैत्रीपूर्ण पार्कको डीपीआर निर्माण गर्न चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी टेक्नोलोजी डेभलपमेन्ट जोन र नेपाली कम्पनी दमक क्लिन इन्डष्ट्रियल पार्कले जिम्मेवारी पाएकोमा नेपाली कम्पनीले बोर्डमा सोमबार यस आयोजनाको डीपीआर पेश गरेको हो । सो परियोजनाको निर्माणको लागि २०७६ साउनमै ५८.६१ करोड अमेरिकी डलरको लगानी स्वीकृत भइसकेको छ । डीपीआर स्वीकृत हुनेबित्तिकै यसको निर्माण कार्य अघि बढ्नेछ ।

उक्त परियोजना ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ जिङ जोइन्ट क्रिसयन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कर्पोरेसन र मक क्लिन इन्डस्टि्रयल पार्कको संयूक्त लगानीमा झापाको दमकमा निर्माण हुन लागेको छ ।

त्यसैगरी कास्कीको बीरेठाँटी-मुक्तिनाथ केवलकार निर्माणको लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शनले गत मंसिर १४ मा बोर्ड कार्यालय समक्ष पेश गरेको छ । कुल ८०.१६ किमि लामो प्रस्तावित केवलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ सम्मको हुनेछ ।

उक्त लगानीको अन्तिम स्वीकृतिका लागि सो कम्पनीले सो डीपीआरलाई लगानी बोर्डमा पेश समेत गरेको छ ।  २०७५ भदौ २७ गते उक्त परियोजनाको डीपीआर २ वर्षभित्र तयार गर्नेगरी लगानी बोर्ड र सो कम्पनीबीच समझदारी भएको थियो । सो कम्पनीले साढे २ महिना तोकिएको भन्दा साढे २ महिना ढिलो मंसिर १४ गते बोर्डमा उक्त डीपीआर पेश गरेको हो ।

प्रारम्भिक सम्भाव्यता अध्ययनको क्रममा उक्त परियोजनाको लम्बाई ८३.६५ किलोमिटर हुने अनुमान गरिएकोमा यस्तो लम्बाई करिब ३ किलोमिटर घटेको हो । यो केबलकार विश्वकै सबैभन्दा लामो केवलकार हुनेछ । अहिले विश्वमा सर्वाधिक लामो केवलकार भियतनाममा छ । यसको लम्बाई ७.८९९ किलोमिटर छ । यो परियोजना निर्माण भएमा त्योभन्दा १० गुणा लामो केवलकार बन्नेछ ।

लगानी बोर्ड कार्यालयको समन्वयमा बोर्ड कार्यालय, नेपाल विद्युत प्राधिकरण र होङ्सी शिवम् सिमेन्ट परियोजनाका पदाधिकारीहरुबीच उक्त परियोजनाको लागि आवश्यक विद्युत प्रसारणलाईन निर्माणमा देखिएका समस्या समाधानको लागि छलफल भएको छ ।

उक्त छलफलमा विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जेठभित्र उक्त परियोजनाको लागि प्रसारण लाइन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला परियोजनाले रोजगारी लगायत देशको समग्र आर्थिक विकासमा उल्लेख्य योगदान पुग्याउने उल्लेख गर्दै यस्ता परियोजनाहरुको कर्यान्वयनमा आवश्यक सहजीकरणका लागि बोर्डले सक्दो प्रयास गरिरहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार