देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लामो समयदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज बस्दै

0

(काठमाडौं) – लामो समयदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक आजदेखि अघि बढ्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार चयन गरेसँगै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । लामो समयको रस्साकस्सी पछि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाएको हो ।

आइतबार बसेको नेकपा सचिवालयको बैठकले स्थायी समिति सदस्य अग्नी सापकोटालाई संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको हो । संसद् सचिवालयले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने सबै तयारी पूरा भएको जनाएको छ । यसअघि नेकपाले सभामुखको उम्मेदवार तय नगरेका कारण रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको थिएन ।

गत पुसको पहिलो साता बसेको प्रतिनिधि सभाको बैठक त्यसयता पटक पटक सूचना टाँसेर स्थगित हुँदै आएको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा संसद बैठक प्रभावित हुँदै आएको थियो । नेकपाले सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने भएपछि उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन् ।

सभामुख वा उपसभामुख मध्ये एउटा पदमा दाबी गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने हालसम्म आफ्नो उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । कांग्रेसले पनि निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि मात्रै उम्मेदवारबारे निर्णय गर्ने जनाएको छ । प्रतिनिधि सभामा नेकपाको बहुमत रहेका कारण उक्त दलले समर्थन गरेका उम्मेदवार नै विजयी हुने अवस्था छ ।

सभामुख दाबी गर्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको बैठक अगावै राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ । सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख तुम्बाहाङफेले राजीनामा दिनुपर्ने हुन्छ । उनले सभामुख उम्मेदवार तय भएपछि आफूले राजीनामा गर्ने बताउँदै आएकी थिईन ।

यसअघि नै तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपाको सचिवालयले निर्देशन दिएको थियो । तर, उनले नेकपा सचिवालयले आफूलाई निर्देशन दिन नसक्ने जिकिर गर्दै आएकी थिइन् । सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ । संसद बैठकको अध्यक्षता गर्ने व्यक्तिले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख निर्वाचनको सूचना प्रकाशित गर्न निर्देशन दिनेछन् ।

उपसभामुखले राजीनामा दिएपछि प्रतिनिधिसभाको अध्यक्षता ज्येष्ठ सांसद महन्थ ठाकुरले गर्नेछन् । उनले सभामुख निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्मका लागि प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार