देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वर्तमान परिप्रेक्षमा पथभ्रष्ट राजनीति

0
<p>दिपेश राज खनाल</p>

दिपेश राज खनाल

महाभारतको कथाअनुसार आफू सारथि बनेर कृष्णले अर्जुनलाई युद्धकला सिकाए। अर्जुनलाई शिष्य र कृष्णलाई गुरु मान्ने हो भने महाभारतको यो किस्साबाट शिक्षक मार्गदर्शक र विद्यार्थी कर्मशील हुनुपर्ने आदर्श राजनीतिको दृष्टान्त प्राप्त हुन्छ। युधिष्ठिरको धर्मपरायणता र दुर्योधनको दम्भ अनि निर्णायक भूमिकामा रहेका कृष्णसँग गाँसिएको कथावस्तुमा महाभारतको युद्धले खिचातानी, कटुता, अन्यायका बीचमा पनि सुसंस्कारको पाठ पढाएको छ। धृतराष्ट्रको सत्तामुखी महत्वाकाँक्षाका सामु धर्म, न्याय र सुशासनकै जित भएको देखाइएको छ।

यहाँ सिकारुकेन्द्रित सिकाइका क्रियाकलाप र अनुभवमुखी अभ्यासको आवश्यकता पर्ने भाष्य प्रदर्शित भएको छ।आजकै कुरा गर्दा नेपाली राजनीतिका कारण जनताको मन बिक्न र विभाजित हुन अभ्यस्त बन्दै गयो। राष्ट्रिय स्वार्थभन्दा व्यक्ति स्वार्थमा हामी अन्धो बन्दै गयौँ। परिणामतः मानवता र शान्तिको उद्घोष नहुँदा मान्छेभित्र एकखाले कोलाहल छ, कमाउधन्दा छ, स्वार्थ छ। अरू सिध्याउने र आफु(व्यक्ति) बन्ने सङ्कीर्णताको पोको बोकेर नेतृत्वमा रहनेहरू नै पथभ्रष्ट बन्दैछन् ।
राजनीतिभित्र सत्यता, न्याय, सुशासन, देशप्रेम र समर्पणको सौन्दर्य धमिलिएको छ। आगामी दिनलाई आकलन गर्दा विलासिताको मोहभित्र विसङ्गतिका चाङ अनि त्यसबाट निर्मित स्वार्थका तमाम भ्वाङ टाल्दैमा मुलुकलाई बनाउनुपर्ने असाध्यै मूल्यवान् समय खेर गइरहन्छ। एक वर्ष सरकार बनाउनमा र एक वर्ष चुनावी जितको तानाबाना बुन्दैमा बित्छ। बीचको तीन वर्ष पनि भागबण्डाकै लडाइँमा राजनीति अल्मलिने भय हाम्रा सामु छ। यसकारण लोकतान्त्रिक पद्धतिको यति सुन्दर राजनीतिक संरचनामा पनि वितृष्णाको पहाड ठडिएको देखिन्छ।

व्यावहारिक, यथार्थ अनि कर्तव्यको धर्मलाई समस्याको चाङतिर लगेर अँचेटिदिन्छ। बहुकेन्द्रवाद र विकेन्द्रीकृत राजनीतिक अभ्यासमा हाम्रो मुलुक एउटा प्रयोगशाला जस्तै बनिरहेको छ। विभिन्न परिवर्तन, तन्त्र, सिद्धान्त र अभ्यासभित्र हामी उज्यालोको अपेक्षामा छौँ। सबैले आ–आफ्नै विचारको मन्थनभित्र घोषणापत्र बोकेर राजनीतिक अभ्यासको आश्वासन दिइरहँदा हाम्रो मौलिक सभ्यताको अर्थबोध भएको छरछैन भन्नुपर्ने स्थिति छ। देशकै माटो र पहिचान अनि राष्ट्रिय स्वार्थको सघन आधारलाई कसरी समातिएको छ ? सिद्धान्त र व्यवहारबीच कार्यान्वयनको आधार कसरी सुनिश्चित छ रु कर्मकाण्डी स्वप्न भित्र अबको जनताले आँखा चिम्लेर होमिनु हुँदैन।

जनविश्वास जित्ने अभ्यासको खडेरी हस्तान्तरित भइरह्यो। प्रजातन्त्र प्राप्तिको आधा शताब्दीपश्चात् पनि हामी उही आत्मनिर्भरता, सुशासनको अपेक्षा र समानताको हुटहुटीमा चिन्तित छौँ। हामीले चाहेको, खोजेको र रोजेको विकास र समृद्धिका तृष्णा सोचेजसरी सफल भएनन्। फलतः शक्ति, सम्पत्ति र सम्मानको मोह र सत्तास्वार्थका कारण समाजको आदर्श शिक्षाले पनि काम गरेन। अर्काको सत्तोसराप गर्दै मपाईंत्ववादी सोचको सङ्कीर्णताभित्रै आजको राजनीतिक शिक्षा र संस्कार विद्रुप भयो। यहाँ महाभारतका कृष्ण (नेता)ले चलाउने रथ र अर्जुनरूपी नवसिकारुमा समेत उही र उस्तै छनक देखियो। फलतः दलीय चरित्रको शैली र व्यवहारका कारण स्वतन्त्र उम्मेदवारको एक खाले बाढी आयो । यसले वैकल्पिक शक्ति निर्माण गर्दै गइरहेको छ। फलतः यसबाट पुराना दलहरूमा सकारात्मक अभ्यास गर्नैपर्ने दबाब चाहिँ बढेको देखिन्छ।

युगीन आवश्यकतामा आधारित भएर नयाँ र प्रगतिशील विचारमा मानव समाजले विश्वदृष्टि बनाउँदै अघि बढ्ने भए पनि मानवीय प्राकृतिक धर्म भनेकै खुसी र सुखी हुने हो। समाजलाई सुशासनको डोरोमा बाँध्ने सामाजिक आदर्शताको स्वतन्त्र चिन्तनलाई विकसित तुल्याउने हो।

आत्मनिर्भरता र रोजगार सिकाउने माटो सुहाउँदो योजनाका लागि समीक्षा भएमा समाजभित्र सुशासनको संस्कार सम्भव हुन्छ। यसर्थ राजनिनितिकर्मी जो कोहीसँग योजनाबद्ध सुशासनको दिगो र प्रभावकारी वाचा हुनुपर्छ ।

(लेखक खनाल नेविसंघ सिन्धुपाल्चोकका सचिव एवं नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि हुन् ।)

 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार