देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वाइड बडी छानबिन अघि बढाउँदै अख्तियार

0

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढीलै भए पनि वाइड बडी विमान खरिदको अनियमितताबारे छानबिन गर्न ‘कूटनीतिक च्यानल’ उपयोग गरेको छ ।अनियमितताका विषयमा जानकारी लिन आयोगले परराष्ट्र मन्त्रालयमार्फत् फ्रान्सस्थित नेपाली दूतावासलाई पत्राचार गरेको हो । आयोग स्रोतका अनुसार, दुई महिनाअघि परराष्ट्रलाई छानबिनसम्बन्धी आवश्यक जानकारी माग गरेको हो ।

यसअघि आयोगले सिँधै कम्पनीलाई सोधपुछ गर्दै पत्राचार गरेको थियो । कम्पनीले कूटनीतिक च्यानलमार्फत् आउन भनेपछि परराष्ट्र मन्त्रालयमार्फत अघि बढेको आयोग स्रोतले जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिले दिएको निर्देशनलाई समेत बेवास्ता गरेको भनी आलोचित भएपछि आयोगले छानबिन अघि बढाएको हो । यसअघि आलटाल गर्दै आएको आयोगले यस्ता गम्भीर मुद्दामा कसैलाई पनि चोख्याउने माध्यम नबन्ने भन्दै कूटनीतिक प्रक्रियामार्फत् कागजात मागमा गएको ती अधिकारीले बताए ।

आयोगले सम्बन्धित विमान कम्पनीमा पत्राचार गर्दा कूटनीतिक माध्यमबाट आउनु भनेकाले उक्त विषयमा थप स्पष्ट हुन परराष्ट्र मन्त्रालयमार्फत् जानकारी मागेको जानकारी लेखा समितिलाई दिएको छ । दुईवटा वाइड बडी विमान खरिद गर्दा भ्रष्टाचार भएको ठहर संसदको लेखा समितिले दुई वर्षअघि नै गरेको थियो ।

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ ‘अनियमितता’ भएको निश्कर्ष निकालेको थियो । उक्त निश्कर्षसँगै संसद्को सार्वजनिक लेखा समितिले असोजमा नै पठाएको पत्रको जवाफमा अख्तियारले ‘अनुसन्धान भइरहेको’ बाहेक अन्य उत्तर अझै दिन सकेको छैन ।

अख्तियारलाई वाइडबडी मात्र होइन सेक्युरिटी प्रेस खरिद अनियमितताबारे अनुसन्धानको प्रगति विवरण पठाउन पनि लेखा समितिले निर्देशन दिएको छ । त्यस विषयमा पनि अख्तियारमा छानबिन भएको भन्दै राजनीतिक दलको संरक्षणमा चोख्याउने खेल भइरहेको एक अधिकारीले जानकारी दिए । ‘अनुसन्धान भइरहेको’ भनेपछि अन्य कार्य अघि बढाउन मिल्दैन ।

अख्तियारले विमान खरिदको विषयमा कागजात अध्ययन एवं विश्लेषणसँगै खरिद प्रक्रियामा संलग्न कर्मचारी पदाधिकारीसँग बयान लिने काम सकिएको जनाएको छ । उजुरीमा संकलित र कागजातबाट देखिएका व्यहोरालाई बयानका आधारमा तथ्यगत परीक्षण गर्ने काम भइरहेको अख्तियारले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार