देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वायु प्रदूषण बढी भएका स्थानमा कोरोना संक्रमण र मृत्युको सम्भावना उच्च

0

काठमाडौं – वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोरोना भाइरसको संक्रमण र मृत्यु हुने सम्भावना बढी हुने एक अध्ययनले देखाएको छ ।

वातावरण संरक्षणसँग सम्बन्धित विज्ञहरुका अनुसार कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने मध्ये झण्डै १५ प्रतिशत वायु प्रदूषण नै कारण हुने गरेको छ ।

नेपालमा मानिसको ज्यान जाने प्रमुख तीन कारण मध्ये मुटु सम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मस्तिष्कघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. जागेश्वर गौतमले नेपालमा आवश्यक मापदण्ड भन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको बताए ।

फोक्सो र मुटु रोग तथा मस्तिष्काघातको प्रमुख कारक मध्ये वायु प्रदूषण पनि एक भएको उल्लेख गर्दै उनले सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको मृत्यु भएको बताए ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका जनस्वास्थ्य प्रशासक डा खुर्सिद आलम हाइडरले वायु प्रदूषणले कोभिड–१९ को सङ्क्रमण र मृत्युदर दुवै बढाउने उल्लेख गर्दै सङ्गठन वायु प्रदूषण नियन्त्रणका लागि नगरपालिकाहरुलाई प्राविधिक सहयोग गर्न तयार रहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गर्दै काठमाडौँ उपत्यकाका लागि ‘शहरी स्वास्थ्य कार्यक्रम’  दुई वर्षदेखि कार्यान्वयन गर्दै आइरहेको छ ।

वातावरणविद् सञ्जयनाथ खनालले वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडक धुलो नियन्त्रण, उद्योगमा सुधार र फोहर जलाउने कार्य बन्दलगायत कार्य गर्नुपर्ने सुझाव दिए ।

काठमाडौँ उपत्यकामा वायु प्रदूषण एक प्रमुख समस्या हो । हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुने भएकाले आउने दुईतीन महिनामा काठमाडौँको वायु प्रदूषण ह्वात्तै बढ्ने बताइएको छ ।

काठमाडौँमा वायु प्रदूषण हुनाका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्किने धुलोका कण, उद्योगधन्दा तथा इँटाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर फाल्ने तथा बाल्नेलगायत हुन् ।

उपत्यकाका ग्रामीण भेगमा खाना पकाउनका लागि बालिने दाउराका कारण घरभित्र पनि वायु प्रदूषण पनि एक समस्याका रुपमा देखापरेको छ । नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारण मुटुसम्बन्धी रोग, फोक्सो सम्बन्धी रोग र मस्तिष्काघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार