देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वास्तविक एमालेको सदस्य सङ्ख्या घटेको छैन – अधिकारी

0

काठमाडौं – नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बिहिबार विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् ।

“नेकपा (एमाले) को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यस पटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।”

उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् “दशौँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपाकालमा अनुचित ढङ्गले दिइएका सदस्यको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो । तसर्थ, त्यो एमालेको वास्तविक सदस्य सङ्ख्या थिएन ।”

सङ्गठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गरेका छन् ।

“नेतृत्वका आकाङ्क्षीबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइनेजस्ता अनियमित कामका कारण अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो । एमालेको इतिहासमा यस पटक त्यसमा क्रमभङ्ग गरिएको छ”, उनले जारी गराएको विज्ञप्तिमा भनिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार