देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

0

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वमा १० लाख भन्दा बढी मानिसको मत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार मंगलबार बिहानसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ८२५ पुगेको छ ।

विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन् । विज्ञहरूले अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेको जनाएका छन् ।

कोरोना संक्रमणका कारण अमेरिकामा मंगलबार बिहानसम्म २ लाख ५ हजार बढीको मृत्यु भईसकेको छ । ब्राजिलमा एक लाख ४२ हजार ५८, भारतमा ९५ हजार ५४२ र मेक्सिकोमा ७६ हजार ७३० जनाको मृत्यु भईसकेको छ ।

कोरोनाको पहिलो संक्रमण झण्डै १० महिना अगाडि चीनको वुहानबाट सुरू भएको थियो । त्यसयता यो महामारी विश्वका १ सय ८८ वटा मुलुकमा फैलिसकेको छ । हालसम्म विश्वका ३ करोड २० लाख बढी मानिसलाई भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

कोरोनाका कारण विश्वमा अमेरिका, ब्राजिल र भारत सबैभन्दा धेरै प्रभावित बनेका छन् । विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः ब्राजिल र भारतमा भएको छ । अमेरिकामा अहिलेसम्म धेरै संक्रमित प्रमाणित भएपनि पछिल्लो समय संक्रमण फैलिने क्रम भारतमा सबैभन्दा धेरै छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनाबाट मृत्यु हुनेको यो तथ्यांक भयावह भएको भन्दै यो संकटसँग जुध्नका लागि अन्तर्राष्ट्रिय सहयोग र नेतृत्वको खाँचो रहेको बताएका छन् ।

यद्यपि, विज्ञहरूका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको हालको संख्या १० लाख भन्दा बढी हुन सक्छ किनकि धेरै देशहरूमा कोरोना भाइरसको परीक्षण न्यून मात्रामा गरिएको छ । जसका कारण कोभिड-१९ बाट हुने मृत्युलाई सही रूपमा रेकर्ड गरिएको छैन ।

विश्व स्वास्थ्य संगठनले खोप तयार हुने बेलासम्म विश्वमा २० लाख मानिसले संक्रमणका कारण ज्याउन गुमाइसक्ने चेतावनी दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार