देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको बिचल्ली

0

काठमाडौं – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डाक्टरको वेवास्ताका कारण ‘कोभिड–१९ अस्पताल’मा राखिएको संक्रमितको बिचल्ली भएको छ । कोभिड–१९ अस्पतालको लापरबाहीले शुक्रबार त्यहाँ ल्याइएका कोरोना संक्रमितको बेहाल भएको उनीहरुले बताएका छन् ।

त्यहाँ उपचार गराइरहेका एक संक्रमितका अनुसार ६ दिनदेखि आइसोलेसनमा रहँदा एकपल्ट समेत डाक्टर नर्सहरु हेर्न आएका छैनन् । आफूहरु त्यहाँ बसेदेखि डाक्टर नआएको उनको गुनासो छ । ‘मेन गेटमा ताला लगाएको छ । अस्पतालमा खाना र तातोपानीको त कुरै छोडौं, तीन चार दिनदेखि डाक्टर नर्सको मुख हेर्न पाएका छैनौं ।’ अर्का संक्रमितले भने ।

संक्रमितका अनुसार कोभिड अस्पतालमा बाहिरबाट खानेपानी मगाउन पनि दिइएको छैन । अस्पताल आफैंले अहिलेसम्म पानीको व्यवस्थापन गरेको छैन । पानी नहुँदा शौचालय दुर्गन्धित भएको उनको भनाई छ ।

कोभिड–१९ अस्पतालमा अहिले ८ जना संक्रमित छन् । ६ जना शुक्रबार संक्रमण पुष्टि भएपछि ल्याइएको हो भने २ जना उपचाररत थिए । त्यसो त एक महिनाअघि झापाबाट एक नम्बर प्रदेश सरकारको समन्वयमा ल्याइएका कोरोना संक्रमितलाई प्रतिष्ठानले समयमै भर्ना नलिँदा रातभर दर्जनौं कोरोना संक्रमित प्रतिष्ठानको खुल्ला स्थानमा शौच गर्दै बसेका थिए ।

यस बिषयमा जानकारी लिन खोज्दा अस्पतालका प्रवक्ता डा.दिनेश सापकोटाले ‘कोभिड–१९ अस्पताल’को व्यवस्थापनमा कुनै समस्या नभएको दावी गरे । ‘प्रतिष्ठानमा वर्षौंदेखि प्रशोधित खानेपानी छ, हामी डाक्टरदेखि बिरामी, कर्मचारी सबैले यहि पानी प्रयोग गरिरहेका छौं,’ ‘उनले भने–‘तातोचिसो जस्तो पनि उपलब्ध छ तर, छुट्टै बिरामीकै लागि भनेर मिनिरल वाटर मगाउन सक्दैनौं ।’

स्रोतअनुसार  प्रतिष्ठानमा बिरामीको हेरचाह भन्दापनि बैठक भत्ता, डाक्टर तथा कर्मचारीको खाना खाजा, लगायत अनावश्यक कुरामा फजुल खर्च भइरहेको छ । र पदाधिकारीहरुको ध्यान सकेसम्म बढिभन्दा बढि औषधी उपकरण खरिद गरेर थुपार्ने तथा भवन निर्माण गर्ने तर्फ केन्द्रीत भएकोले प्रतिष्ठान बदनाम भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार