देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीपी प्रतिष्ठानमा थप चार जना कोरोना संक्रमितको मृत्यु

0

सुनसरी – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड- १९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानमा उपचाररत सुनसरीका तीन र झापाका एक पुरुषको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

इटहरी उपमहानगरपालिका-६ का ६८ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ज्वरो–खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि ती पुरुषलाई असोज २२ गते अस्पताल ल्याइएको थियो । ती पुरुषलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा दीर्घ रोग थिएन ।

दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो । मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो । स्वास्थ्यमा समस्या भएपछि दुहबीका ५२ वर्षीय पुरुष असोज १२ गते भर्ना भएका थिए ।

धरान उपमहानगरपालिका–८ का ४६ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठका अनुसार उच्च रक्तचापका रोगी समेत रहेका धरानका पुरुषको बिहीबार बेलुकी इमर्जेन्सी कक्षमा मृत्यु भएको थियो ।

झापाको दमक नगरपालिका–१ का ५२ वर्षीय संक्रमितको बिहीबार मृत्यु भएको हो । असोज १८ गते कोभिड अस्पताल भर्ना भएका दमकका संक्रमितको बिहीबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार