देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीर पुर्खाहरूकाे बलिदानबाट याे मातृभूमिकाे निर्माण भएकाे हाे : राष्ट्रपति भण्डारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाहरूकाे बलिदानबाट याे मातृभूमिकाे निर्माण भएकाे बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल एकीकरण अभियानकर्ता पृथ्वीनारायण शाहकाे ३०० औं जन्मजयन्तीकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्ताे बताएकी हुन् ।

‘देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहेको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित छ’, राष्ट्रपतिले जारी गरेकाे सन्देशमा भनिएकाे छ ।

राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्ने विश्वास समेत राखेकी छन् ।

पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ ।

सर्वसाधारणका साथै राजावादी संघ संस्थाहरुले शालिकमा माल्यार्पर्णको कार्यक्रम राखेका छन् । आजै पूर्वराजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि मध्याह्न सिंहदरबार जाने कार्यक्रम रहेको छ ।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन माग हुँदै आएको छ । तर सरकारीस्तरमा भने बिदाको घोषणा गरिएको छैन । यद्दपी केही स्थानीय तहहरुले भने बिदा दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार