देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शिशु बेवारिसे काण्ड : केयर बालगृह कपनमा आश्रित ११ बालिकाको उद्धार

0

काठमाण्डौं –  काठमाडौं कपनस्थित केयर बालगृहमा आश्रित ११ बालिकाको उद्धार गरिएको छ । बेवारिसे शिशु फेला परेको भन्दै हल्लाखल्ला फैलिएपछी राष्ट्रिय बाल परिषद्ले उद्धार गरेका बालिका ६ देखि १२ वर्षका छन् । उनीहरू चार वर्षदेखि बालगृहमा आश्रित थिए । उनीहरूमध्ये अधिकांशका अभिभावक रहेको परिषद्ले जनाएको छ । उद्धारपछि परिषद्ले सबैलाई आफूमातहतको अस्थायी सेल्टरमा राखेको छ ।

यो बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झुटो प्रचार गरेको सार्वजनिक भएको थियो । बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ । यी बालबालिकामध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले जानकारी दिइन् ।

‘दुई–तीनजना भने अनाथ रहेछन्,’ परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालले भनिन्, ‘त्यहाँ उनीहरू असुरक्षित भएको महसुस गर्‍यौँ । त्यसैले सबैको उद्धार गरेका हौँ ।’परिषद्का अनुसार सबै बालिकाका अभिभावक पत्ता लगाउने प्रयास भइरहेको छ । पत्ता लाग्नासाथ बोलाएर जिम्मा लगाइने भुसालले जानकारी दिइन् । अभिभावक नभएका बालिकालाई भने परिषद्ले नै आश्रय दिनेछ । ‘आर्थिक अवस्था कमजोर भएकाहरूले आफ्ना छोरीलाई बालगृहमा लगेर राखेको भेटियो,’ उनले भनिन्, ‘अभिभावकलाई नै जिम्मा लगाउँछौँ ।’

परिषद्का अनुसार बालगृहले स–साना बालिका जम्मा गर्नुको उद्देश्य आर्थिक उपार्जन रहेको पाइएको छ । बालगृहकी सञ्चालक पुष्पा अधिकारी हुन् । उनको कोटेश्वरमा गर्ल्स होस्टेल छ । बालिका देखाएर चन्दा संकलन गरी होस्टेल र बालगृह सञ्चालन गरेको पाइएको भुसाल बताउँछिन् । भन्छिन्, ‘थप अनुसन्धान भइरहेको छ ।’

बालगृह सञ्चालक अधिकारीले बालिकाको अबोधपन दुरुपयोग गरेर आर्थिक उपार्जन गरेको देखिएकाले उनीविरुद्ध बाल अधिकार ऐन आकर्षित हुने परिषद्को दाबी छ । यस सम्बन्धमा प्रहरी र परिषद्ले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । दोषी देखिए कानुनअनुसार कारबाही हुने भुसालको भनाइ छ ।

अधिकारीले १२ साउन साँझ कपनको चौरमा बालिका अलपत्र फेला परेको बताउँदै सामाजिक सञ्जालमार्फत खबर भाइरल बनाएकी थिइन् । तर, पछि बालिका अलपत्र अवस्थामा भेटिएको नभई आमाकै सहमतिमा उनले ल्याएको खुलेको थियो । त्यसपछि भने अधिकारीले गल्ती स्वीकारेकी थिइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार