देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शीतलहरका कारण तीन स्थानीय तहको विद्यालय बन्द

0

सप्तरी – शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आइतबारदेखि मंगलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताइन् ।

तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बन्दको निर्णयपछि सोमबारसम्मका लागि सप्तकोशी नगरपालिकाका सात आधारभूत र चार माध्यमिक विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए ।

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन् । बलानविहुल गाउँपालिकाले पनि विद्यालय बन्द गर्न मौसमको अवस्था मूल्यांकन गर्न बैठक बस्न लागेको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए ।

 

रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार