देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संविधान संशोधन विधयेक संसदबाट सर्वसम्मतिले पारित

0

(काठमाडौं) – संघीय संसदको प्रतिनिधिसभाको बैठकबाट संविधान संशोधन विधेयेक सर्वसम्मतिले पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी भएपछि निशान छापमा उक्त नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए ।

विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै पनि मत नपरेकाले विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

विधेयेक पारित भएसँगै संविधानको अनुसूचीमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक सहितका भूमि अटाएका छन् । प्रतिनिधिसभा सदस्यको कुल संख्या २ सय ७५ रहे पनि हाल बहाल संख्या २ सय ७१ छ । ४ जना सांसद निलम्बनमा छन् । त्यसमध्ये संविधान संशोधनका क्रममा २ सय ५८ जनामात्र उपस्थित रहेका थिए । उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।

यद्यपि यो विधेयेक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउने छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नयाँ नक्साले पूर्ण वैधानिकता पाउनेछ ।

सरकारले यसअघि नै नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरिसकेको छ । उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार