देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर : कांग्रेस

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको मर्म र भावना विपरीत संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले संसद् अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

बैठकले वर्तमान सरकार चौतर्फी रुपमा असफल हुँदै गएकाले निरंकुश सोचले ल्याएको अध्यादेश फिर्ता हुनु पर्ने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक व्यवस्था माथि हुने जस्तासुकै खेलवाड स्वीकार्य नभएको बताए ।

सरकारले गत मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको थियो । सरकारले संसद् अधिवेशन छलेर सो अध्यादेश ल्याएको कांग्रेसको आरोप छ ।

कांग्रेसले संसद्को हिउँदे अधिवेशन अविलम्ब बोलाउन सरकारको ध्यानाकर्षण गराएको छ । जनताका समस्या सम्बोधन गर्न तथा सरकारलाई खवरदारी गर्न पनि अधिवेशन आवश्यक रहेको कांग्रेसको निष्कर्ष छ ।

बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भीर नभएको ठहर गरेको छ । कोरोना नियन्त्रणको नाममा अनियमितता गर्नेलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ ।

साथै, बैठकले मुलुकका विभिन्न स्थानमा कांग्रेस भएकै कारण सरकारले झुटो मुद्दा लगाई त्रास सिर्जना गर्ने गरेको र पक्षपात व्यवहार गर्ने गरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।

उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउदै कांग्रेसले समस्या समाधानका लागि दीर्घकालिन उपाय खोज्न सरकारलाई सुझाएको छ ।
कांग्रेसले मोरङमा प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको घटनालाई निन्दनीय र दु:खद घटना भन्दै भत्र्सना गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार