देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निर्वाचन आयोगले तोकिदियो संसद्को कार्यकाल, असोज एक सम्म मात्र

0

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल समानुपातिक बन्दसूचीको मनोनयनअघिसम्म मात्र कायम रहने वक्तव्यको व्यहोरासहितको पत्र सङ्घीय संसदमा पठाएको छ ।

सामान्यतया जनप्रतिनिधिमूलक संस्थाले नै कानुनबाट विधायिकाको कार्यकाल निर्धारण गर्नुपर्ने भए पनि कार्यकाल एकिन नभएकोले पुरनो नजिरका आधारमा आयोगले कार्यकालबारेको पत्र संसद्लाई पठाएको हो ।

निर्वाचन आयोगले २०७४ सालको नजिरलाई आधार मानेर कार्यकाल असोज १ गतेसम्म कायम हुने व्याख्या गरेको छ । यस्तै मनोनयन दर्ता गर्नेको पद स्वतः रिक्त हुने पनि आचारसंहितामा व्यवस्था गरेको छ । विधायिकाले कार्यकालबारे स्पष्ट रूपमा कानुनी प्रबन्ध गर्न नसक्दा निर्वाचन आचारसंहिता र नजिरको भर पर्नुपरेको छ ।

आयोगले पत्रसाथ पठाएको वक्तव्यमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको प्रस्ट गरेको छ ।

प्रत्येक सदस्यको निर्वाचित मितिलाई आधार मानी गणना गर्दा फरक–फरक मितिमा निर्वाचित भएको मान्नुपर्ने अवस्था देखिएकाले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पदावधिको अवधि गणना गर्नु व्यावहारिक र निर्विवाद हुने देखिएकाले सोही आधारमा निर्वाचन आयोगले परामर्श दिई नेपाल सरकारले निर्वाचन मिति घोषणा गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले समानुपातिक बन्दसूचीलाई मनोनयन मानेर कार्यकाल सकिने पत्राचार गरे पनि राजनीतिक वृत्तमा भने अहिले पनि प्रत्यक्षको मनोनयनसम्म कार्यकाल रहने दाबी पनि हुँदै आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार