देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद अधिवेशन अवधिभर राजधानी नछोड्न सांसदलाई कांग्रेसको निर्देशन

0

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदलाई निर्देशन दिएको छ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन दिएको हो।

विगतमा संसदको बैठक तथा समिति बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

उनले नेपाली कांग्रेसका सांसद निरन्तर रुपले सभा र समितिमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताए। उनले संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदलाई राजधानी नछोड्न निर्देशन दिइएको बताए। 

यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको उनले स्पष्ट पारे।

बैठकले सभा र समितिको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ। बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ।

त्यसैगरी कांग्रेसले संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दललाई अपील पनि गरेको छ।

बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनामा थप बजेट व्यवस्था गरी आयोजना सम्पन्न गर्न सरकारलाई आग्रह पनि गरेको छ।  

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार