देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद विघटनविरूद्ध कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज (सोमबार) देशैभर विरोध प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्ने भएको हो ।

विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् ।

सभापति शेरबहादुर देउवा डडेलधुरा गएका छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको दुई वटा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन् । काठमाडौं क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् ।

काठमाडौंको कोटेश्वरमा हुने प्रदर्शनपछिको सभालाई प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौंका दश निर्वाचन क्षेत्रका विभिन्न  १५ ठाउँमा आज प्रदर्शन र सभा हुनेछ। अधिकांश प्रदर्शन दिउँसो १ बजेदेखि सुरू हुने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार