देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सचिवालय बैठक छल्न प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

0

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।

उनका अनुसार बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेचाहिँ अझै तय भने भएको छैन । तर, दिउँसो १ बजे नेकपा सचिवालयको बैठक बस्ने भनिएका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले त्यही समय मिल्ने गरी मन्त्रिपरिषद बैठक बैठक बोलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो । तर, बैठकका एजेण्डाबारे मन्त्रीहरु पनि जानकार छैनन् । मन्त्रिपरिषद् बैठक प्राय: सातामा सोमबार र बिहीबार बस्ने गरेको थियो ।

तर, पार्टीको बैठक छल्न खोजेको अर्थ लाग्ने गरी प्रधानमन्त्री ओलीले आजै १ बजे नै मन्त्रिपरिषद बैठक डाकेका छन् । ओली पक्ष आजको सचिवालय बैठक रोक्ने प्रयासमा छ । अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष भने बैठक जसरी भए पनि बसाल्ने तयारीमा छ ।

गत शुक्रबार नेकपा सचिवालय बैठकमा प्रचण्डले पेश गरेका प्रस्तावमाथि आज छलफल गर्ने सहमति थियो । तर, आजको सचिवालय बैठक सार्नुपर्ने पक्षमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र उनी निकटका सचिवालय सदस्य छन् ।

नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । नेकपाभित्र विवाद बढ्दै गएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार फरकफरक समयमा अध्यक्षद्वय ओली र दाहालसँग छलफल गरेकी थिइन् । यस्तै, मंगलबार राति नै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेकी छिन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार