देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सजिलो छैन देउवालाई

0

काठमाडौँ – कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा सत्ताको गणित र भाग्यमा बढी विश्वास गर्छन् । उनको राजनीतिक जीवनमा भाग्यले केही साथ दिएको होला, त्योभन्दा धेरै राजनीतिक संघर्ष (कर्म) ले साथ दिएको छ । भाग्य र कर्मले उनलाई दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री हुने मौका मिल्यो । अब भने उनले दर्जन चुनौतीको सामना गर्दै अघि जानुपर्नेछ ।

लामो समय पार्टीभित्र ‘प्रतिपक्षी’ भूमिकामा रहेका देउवाले उठाउने प्रमुख प्रश्न थियो– पार्टीमा विधिको शासन भएन । नेतृत्व निरंकुश भयो । नेतृत्वसँगको टकरावकै कारण उनले २०५९ असारमा पार्टी विभाजन गर्दै कांग्रेस (प्रजातान्त्रिक) स्थापना गरे । पाँच वर्षपछि पार्टी एकीकरणमार्फत पुनः कांग्रेसमा फर्किए तर नेतृत्वसँगको गुनासो यथावतै रह्यो । २०७२ फागुनमा सभापति निर्वाचित भएपछि भने उनले विगतमा उठाउने गरेका प्रश्न आफैंतिर फर्किए । देउवाको करिब ६ वर्षे कार्यकालको समीक्षाको प्रमुख सार भनेकै नेतृत्वमा पुगेपछि विगतमा आफैंले उठाएका प्रश्नको निरूपण गर्न नसक्नु रह्यो ।

१४ औं महाधिवेशनबाट बुधबार पुनः सभापति निर्वाचित भएपछि ७५ वर्षीय देउवा चुनौतीका पुरानै प्रश्नले घेरिएका छन् । पार्टीभित्र विधि र आन्तरिक लोकतन्त्रलाई स्थापित गर्ने, एकताको सन्देश प्रवाह गर्ने र महाधिवेशनमा बुलन्द बनेको रूपान्तरणको आवाजलाई सम्बोधन गर्ने दायित्व उनीमाथि छन् । कांग्रेस राजनीतिबारे जानकार/विश्लेषक जगत नेपालका अनुसार उनको कार्यकालको परीक्षण मूल रूपमा यहींबाट सुरु हुनेछ ।

‘देउवाबाट परिवर्तन हुँदैन भन्ने जुन आमधारणा छ, त्यसलाई चिर्दै गलत सावित गर्नु उहाँका लागि सबैभन्दा ठूलो चुनौती हो,’ उनी भन्छन्, ‘विगतमा जस्तै विभिन्न कारण देखाएर पुरानै कार्यशैलीलाई निरन्तरता दिनुभयो भने पार्टी नेतृत्वको रूपमा काम गरेर देखाउने सम्भवतः अन्तिम मौका गुमाउनु हुनेछ ।’

देउवाले पहिलो कार्यकालको लामो समयसम्म पार्टीका विभाग गठन गर्न सकेनन् । कांग्रेसका ३० वटा भ्रातृ संघ तथा शुभेच्छुक संस्था छन् । नेविसंघजस्तो नेतृत्व उत्पादन गर्ने नर्सरीदेखि तरुण दलजस्तो ऊर्जा प्रदान गर्ने संगठनमा वर्षौंदेखि अधिवेशन हुन सकेका छैनन् । भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको निष्क्रियताले पार्टी जीवनको गतिशीलतामा अवरोधमात्र गरेन, देउवाले विगतमा उठाउने गरेका प्रश्न आफैंबाट अनुत्तरित भएका छन् । वर्षौंदेखि निष्क्रिय भएका भ्रातृ संस्था तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाउने र विभागहरूलाई समयमै पूर्णता दिएर सिंगो पार्टी जीवनलाई चलायमान बनाउनुपर्ने अर्को चुनौती देउवासामु खडा भएको छ । यसले पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउँदै देशको लोकतन्त्रमाथि बेलाबेला हुने थ्रेटलाई पनि न्यूनीकरण गर्न सघाउने कांग्रेस राजनीतिका विश्लेषक नेपालको भनाइ छ ।

देउवाका लागि अर्को चुनौती पार्टी एकतालाई मजबुत गर्दै आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई जिताउनु हुनेछ । कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न गर्ने सम्बन्धमा वडादेखि केन्द्रसम्म सात तहमा गुटगत प्रतिस्पर्धा भएको छ । चुनावी प्रतिस्पर्धाले पार्टीमा समूहगत ध्रुवीकरण बढाएको छ । देउवानिकट नेता एनपी साउद आगामी निर्वाचनमा पार्टीलाई जिताउन सीमित समयमा केन्द्रदेखि वडासम्म बृहत् एकताको भावना जागृत गर्नुपर्ने प्रमुख कार्यभार नेतृत्वको काँधमा आएको बताउँछन् । ‘आमनिर्वाचनको पूर्वसन्ध्यामा पार्टी महाधिवेशन भएकाले प्रतिस्पर्धाको कुनै पनि कटुता नरहोस् भन्नका लागि पार्टीमा एकताको सन्देश दिन पर्याप्त समय दिनुपर्नेछ,’ उनले भने, ‘सुरुवातबाटै पार्टीलाई गुटगतभन्दा पनि विधि र पद्धतिको आधारमा सञ्चालन गर्ने थिति बसाल्नुपर्नेछ ।’ पहिलो कार्यकालमा भएका कमीकमजोरीबाट पाठ सिक्दै पार्टीलाई चुनावमुखी बनाएर सञ्चालन गरिनुपर्ने उनले बताए ।

महाधिवेशनबाट पार्टीमा शेखर कोइरालाको नेतृत्वमा सशक्त समूह स्थापना भएको छ । केन्द्रीय समितिमा उक्त समूहको प्रभावशाली उपस्थिति हुने अपेक्षा गरिएको छ । एजेन्डामा विमति हुँदाहुँदै दोस्रो चरणमा देउवालाई सहयोग गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधि तथा तेह्रौं महाधिवेशनबाट तेस्रो धारका रूपमा उदाएका कृष्णप्रसाद सिटौलालाई सन्तुलनमा राख्दै अघि बढ्नु थप चुनौती हो । यसका साथै देउवाले केन्द्रीय कार्यसमितिको महत्त्वपूर्ण जिम्मेवारीमा पुगेका युवा पुस्ताको वेगसँग आफूलाई अघि बढाउनुपर्नेछ ।

नेता अर्जुननरसिंह केसी महाधिवेशनबाट स्थापित पार्टीभित्रका शक्तिहरू (विशेषगरी शेखर कोइराला समूह) लाई देउवाले कसरी सन्तुलनमा राख्छन् भन्नेले उनको आगामी कार्यकालको परीक्षण हुने बताउँछन् । ‘पार्टीलाई विधिप्रधान, नीतिप्रधान र संस्थाप्रधानको सिद्धान्तबाट अघि बढाउन सक्नुभएन भने पहिलेभन्दा गम्भीर परिस्थिति आउन सक्छ,’ उनले भने, ‘विगतमा झैं हचुवाको भरमा पार्टी सञ्चालन गर्न खोज्नुभयो भने इतिहास सच्याउने अवसर गुमाउनु हुनेछ ।’

सबै पक्षलाई समेट्ने नाममा पार्टीभित्र हुर्किएको भागबन्डाको राजनीतिले कांग्रेसमा गुट/उपगुट निर्माण भएका छन् । २०६४ असोजमा ४० प्रतिशत भागबन्डासहित पार्टी एकीकरण गरेर देउवाले नै भागबन्डालाई संस्थागत गर्न भूमिका खेलेका थिए । पछिल्लो समय नेतृत्वमा पुगेपछि उनले भागबन्डाको परम्परालाई थप निरन्तरता दिए । यसले पार्टीभित्र गुटहरूले मौलाउने अवसर पाए । देउवाले केन्द्रबाटै गुट मेट्ने अभियानको नेतृत्व लिनुपर्ने नेता केसीको भनाइ छ ।

यसअघि चार पटक प्रधानमन्त्री भएका देउवासँग एक पटक (२०७४ मा) मात्र निर्वाचन गराएको अनुभव छ । उक्त निर्वाचनमा पार्टीको लज्जास्पद हार भएको थियो । परिस्थितिले उनी पाँचौं पटक प्रधानमन्त्री बनेका छन् । अबको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी उनको काँधमा आइपुगेको छ । पार्टी सभापति र प्रधानमन्त्रीका रूपमा २०७४ मा व्यहोरेको असफलता पुनः दोहोर्‍याउने छुट अब उनीसँग छैन । ‘नेतृत्वको अबको प्रमुख प्राथमिकता तीनै तहको निर्वाचनमा पार्टीको जित कसरी सुनिश्चित गर्ने भन्ने नै हो,’ नेता साउद भन्छन्, ‘महाधिवेशनमा देखिएको उत्साहलाई जोगाउँदै पार्टीलाई एकताबद्ध बनाएर चुनावमा गएको खण्डमा मात्र विजयपश्चात् पार्टी र देशको रूपान्तरण सम्भव हुनेछ ।’ देउवाले अहिले गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।

पूर्ववर्ती केपी ओली सरकारले संघीयता र संविधानमाथि प्रहार गरेको भन्दै उनको नेतृत्वमा गठबन्धन बनेको हो । देउवाले सभापतिमा उम्मेदवार बन्दै गर्दा ओली सरकारको कारण संकटमा परेको संविधान र संघीयतालाई ‘लिक’ मा ल्याउने राष्ट्रिय एजेन्डा सुनाएका थिए । उनले उद्घाटन समारोहमै देशमा डर–त्रासमुक्त शासनको प्रतिबद्धता जनाएका थिए । नेता केसी प्रमुख दलको नेतृत्वको हैसियतले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा देखिएको अस्तव्यस्तता अन्त्य गर्नुपर्ने दायित्व र चुनौती देउवामाथि आएको बताउँछन् । ‘यी सबै समस्यामा मूकदर्शक भएर अघि बढ्यो भने त्यसको असर आगामी निर्वाचन र पार्टी जीवनमा पनि पर्नेछ,’ उनले भने, ‘नयाँ यात्रा तय गर्दैगर्दा देउवाले आफ्नो सीमा र सन्तुलनको आधारमा चुनौती सामना गर्नुपर्नेछ ।’

कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तन प्रमुख एजेन्डा बने पनि मतदाताले मूल नेतृत्वका लागि यथास्थितिमै मत जाहेर गरेका छन् । देश र कांग्रेसले भने त्यही नेतृत्वबाट परिवर्तनको अपेक्षा राखेको छ । देउवासामु अर्को चुनौती परिवर्तनको एजेन्डालाई बोक्नु हुनेछ । ‘परिवर्तनको एजेन्डा बोकेर उनीसँग पराजित भएका अन्य उम्मेदवारको भावनालाई उनले सम्बोधन गर्नुपर्नेछ,’ विश्लेषक नेपाल भन्छन्, ‘खासमा देउवाबाट परिवर्तन हुँदैन भन्ने धारणा गलत सावित गर्नु उनका लागि ठूलो चुनौती हो । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार