देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सन् २०१९ फ्ल्यासब्याक : वर्षका चर्चित घटना

0

काठमाडौं – विभिन्न उतारचढाबकाबीच सन् २०१९ विदा भएको छ । गत वर्ष विभिन्न  घटनाहरुले सञ्चारमाध्यममा धेरै नै स्थान पाए । अधिकांश घटनाहरुले विश्व राजनीतिमा अधिक महत्व पाए । सन् २०१९ मा चर्चाको केन्द्रमा रहेका केही घटनाहरु यस्ता छन् ।

१. भेनेजुएलाको पक्ष विपक्षमा विश्व विभाजित
सन् २०१९ भेनेजुएलाको राजनीतिक संकटबाट सुरु भयो । जनवरी २३ मा भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख ३५ वर्षीय हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व दुई पक्षमा विभाजित भयो । राष्ट्रपतिय निर्वाचनमा धाँधली गरेकाले राष्ट्रपति निर्वाचित निकोलस मदुरोलाई ठहर गर्दै उनले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए ।

गुएइदोको घोषणापछि चीन, रुस, टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिको, इरान र उत्तर कोरियालगायतका देशले मदुरोको समर्थन गर्यो भने अमेरिका, युरोपेली राष्ट्रहरु, ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र अष्ट्रेलिया, इजरायललगायतका देशले गुएइदोको समर्थन गरे । यद्यपी मदुरो हालसम्म पनि राष्ट्रपतिकै रुपमा रहेका छन् ।

२. बेलायतमा ब्रेक्जिट सम्झौताको पक्षमा जनमत
बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जर्भेटिभ्सले संसदको चुनावमा बेलायतलाई युरोपेली संघ (ईयू)बाट बाहिर निकाल्ने जनादेश सहितको बहुमत पाएको छ । हाउस अफ् कमन्सका ६ सय ५० स्थानमध्ये घोषणा गरिएका ६ सय स्थानमा जोनसनको कन्जर्भेटिभ्स पार्टीले ३ सय २६ स्थानमा विजय प्राप्त गरेको छ । उनले आउँदो जनवरी ३१ मा बेलायतलाई इयूबाट अलग्याउने गृहकार्य गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुँदै उनी नयाँ चुनावबाट फेरि प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

 

३. सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका र उत्तर कोरिया
एक अर्कालाई प्रमुख शत्रु ठान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१९ मा उल्लेख्य प्रगति नभए पनि शीर्ष नेताको दुई बैठक भयो । अघिल्लो वर्षको जुन १२ का दिन सिङ्गापुरमा पहिलो पटक अङ्गालो हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले यस बर्ष दुई पटक शिखर बैठक गरे । दोस्रो बैठक फेब्रुअरी २७ र २८ मा भियतनाममा भयो भने तेस्रो बैठक दुई कोरियाबीचको सिमानामा जुलाई १ मा भयो । दुवै बैठक ठोस उपलब्धिमूलक नभए पनि द्वीपक्षीय सम्बन्धमा दरार नहुनुलाई नै सन्तोषको रुपमा हेरिएको छ ।

 

४. राहुल गान्धीको राजीनामा
भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए । लोक सभा चुनावमा नराम्रोसँग हार ब्यहोरेपछि राहुलले पदबाट राजीनामा दिएका हुन् । उनलाई राजीनामा नदिन शुभेच्छुकहरुले दबाब दिए पनि उनले मानेनन् । उनको अडानका कारण पार्टीका पूर्वअध्यक्ष तथा राजिवकी आमा सोनिया गान्धी नै अहिले भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्ष रहेकी छिन् ।

 

५. जापानी सम्राटको दुर्लभ निर्णय
जापानको इतिहासमा २ सय वर्षभन्दा बढी समयसम्म नभएको घटना यस वर्ष भयो । त्यहाँका सम्राटले स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय तत्कालीन सम्राट अकिहितोले गरे । अकिहितोले गद्दी त्याग गरेपछि उनका छोरा ५९ वर्षका नारुहितो जापानको राजा भए । नयाँ राजाले राजगद्दी सम्हालेसँगै जापानमा नयाँ युगको सुरुवात भएको मानिएको छ ।

 

६.जम्मू–कश्मीर र बाबरी मस्जिद विवाद
भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्यता रहेको जम्मू–कश्मीरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी गर्यो । त्यसपछि जम्मू–कश्मीर छुट्टै राज्य नभइ केन्द्रशासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनको रुपमा लिइएको छ ।

भारतकै अयोध्यामा वर्षाैँ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो । त्यो ठाउँमा रहेको रामको मन्दिर हिन्दूहरुले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामहरुले पनि त्यो क्षेत्रमा बाबरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए । सर्वाेच्च अदालतले त्यो ठाउँ हिन्दूहरुलाई दिन र इस्लामहरुका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला गर्यो ।

 

७. श्रीलंकामा दाजुभाइको सत्तारोहण
श्रीलंकामा भएको राष्ट्रपतीय चुनावबाट पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोटावया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भए । उनी निर्वाचित भएको केही दिनमै तत्कालीन प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिए र आफ्नै दाइ तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गरे । सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बनेर बाहिरिएका राजापक्षे फेरि सत्तामा फर्किएको र दाइ प्रधानमन्त्री तथा भाइ राष्ट्रपति भएको विषय दक्षिण एसियाको एक चर्चाको विषय बन्यो ।

 

८. पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ
भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्त राज्य अमेरिकामा पक्राउ परे । सन् २०१७ देखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।

 

९. दुई सय २७ बालबालिकाको सामूहिक चिहान
दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविद्हरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे । आजसम्म फेला पारिएको यस्ता चिहानहरुमा यो सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका थिए ।

 

१०. ‘मीटू’ मुद्दामा ३४ लाख क्षतिपूर्ति
जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इटोले बलात्कारसम्बन्धी मुद्दा जितिन् । जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्वका साथ लिइएको थियो । टोकियोको ‘सिभिल कोर्ट’ले इटोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाखभन्दा बढी रुपैयाँ जरिबाना तिर्न आदेश दिएको थियो । उनले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएर बलात्कार भएको भन्दै दोषीलाई कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेकी थिइन् ।

 

११. सरिफ सिकिस्त, अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सिकिस्त बिरामी भए । भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि पाकिस्तानको एक अस्पतालमा उपचार गरी निको नभएपछि बेलायत लगिएको थियो । उनको अवस्था अहिले पनि चिन्ताजनक नै रहेको छ । सन् २०१९ मै पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परे । सन् २०१७ को अगस्टदेखि २०१८ मे सम्म प्रधानमन्त्री भएका अब्बासीलाई पक्राउ गरिएको विषयलाई पनि चासोका साथ हेरियो ।

 

१२. मुशरर्फलाई मृत्युदण्ड
पाकिस्तानका अर्का पूर्व राष्ट्रपति परवेज मुशरर्फविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि विश्वभरि नै फैसलाले विवाद निम्त्याएको छ । बिरामी अवस्थामा विदेशमा उपचार गराइरहेका मुशरर्फको मृत्युदण्ड हुनुअघि नै निधन भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा झुण्ड्याउनसमेत आदेश दिएपछि यो विषय थप चर्चामा रहेको छ ।

 

१३. भारतमा नागरिकताको नयाँ व्यवस्था
नागरिकतासम्बन्धी संशोधित विधेयक पारित गरिएपछि पनि भारतका पश्चिम बङ्गाल, कोलकाता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा दर्जनौँको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने नयाँ व्यवस्थाको विरोध भएको हो ।

 

१४. ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव
सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिहरुमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बने । हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै यही डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको हो । तल्लो सदनमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो ।

 

१५. सान्ना विश्वकै कान्छी प्रधानमन्त्री
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषयले यो वर्षको अन्त्यतिर निकै चर्चा भयो । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उनले मन्त्रीमण्डलमा महिलाको बहुमत र धेरै मन्त्री ४० वर्षभन्दा कम उमेरकालाई बनाएकी छिन् । गठबन्धन सरकारमा ५ वटा दल सहभागी भएका छन् । ती सबै दलको नेतृत्व महिलाले गरेका छन् ।

यी बाहेक अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्वलगायतका विषय पनि वर्षभरी चर्चामा रहिरहे । यस्तै उतारचढावका बीच वर्ष २०१९ बिदा भयो ।

रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार