देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभामुख र देउवाद्वारा संवैधानिक परिषदकाे बैठक फेरि बहिस्कार

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद अध्यक्षको हैसियतले बिहीबार साँझा ५ः३० बजे बोलाएको परिषद बैठक सभामुख अग्नीप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फेरि बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत मंसिर २८ गते र ३० गते बोलाइएको परिषद बैठकमा सभामुख सापकोटा र नेता देउवा अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन् । मंगलबार बिहान बोलाइएको बैठकमा देउवा उपस्थित भएपनि सापकोटा गएका थिएनन् ।

सभामुख सापकोटाले परिषद् बैठक बहिस्कार गरेपछि चिढिएका प्रधानमन्त्री ओलीले परिषद् कार्यविधि सम्वन्धी ऐन परिवर्तन गरी बहुमतको आधारमा निर्णय गर्न सकिने प्रावधान राखेर अध्यादेश राष्ट्रपतिबाट जारी गराएका थिए ।

सत्तारुढ नेकपाका बहुमत सदस्यले अध्यादेश ल्याएकोमा असन्तुष्टि व्यक्त गर्दै संसदको विशेष अधिवेशन बोलाउन माग गरेका थिए । सत्तारुढ सांसदको दबाबपछि अध्यादेश फिर्ता गर्न ओली सहमत भएपछि परिषद् बैठक बिहीबार साँझको लागि बोलाइएको थियो ।

तर, प्रधानमन्त्री ओलीले परिषद् बैठकको औपचारिक जानकारी नदिएको भन्दै सभामुख सापकोटा बैठकमा नगएका हुन् । विपक्षी दलका नेता तथा कांग्रेस सभापति देउवाले पनि बैठक किन बोलाइएको हो भन्ने विषयमा आफू स्पस्ट नभएको भन्दै बैठकमा नगएको बताएका छन् ।

परिषद्का पाँच सदस्यमध्ये चार जना उपस्थित भएमा बैठक बस्न सक्ने संवैधानिक प्रावधान छ । तर उपसभामुख पद खाली भएपछि सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता जो अनुपस्थित भए पनि परिषद् बैठकमा कोरम पुग्दैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार