देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभामुख सापकोटा संवैधानिक परिषदमा बैठकमा नजाने

0

काठमाडौं – संवैधानिक परिषद् बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित नहुने भएका छन् । आज बस्ने भनिएको संवैधानिक परिषदको बैठकमा सभामुख सापकोटा नजाने उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार बैठकका लागि सरकारबाट समन्वय, पूर्वतयारी र गृहकार्य नभएकाले आजको बैठकमा सभामुख सापकोटा नगएका हुन् । ‘‘बैठकअघि हुनुपर्ने समन्वय भएन । पूर्वतयारी र गृहकार्य पनि भएन । त्यसैले उहाँ बैठकमा नजानुभएको हो,’’ न्यौपानेले भने ।

परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती कार्य नगरेको भन्दै सभामुख बैठकमा नगएका हुन् । यस अघि मंसिर २८ गते आइतबार पनि परिषदको बैठक बोलाइएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत उपस्थिति नभएपछि स्थगित भएको थियो ।

यसअघि सभामुख सापकोटा र कांग्रेस सभापति देउवा नजाँदा बैठक कोरम नपुग्दा बस्‍न सकेको थिएन । परिषद् अध्यक्ष रहेका ओलीले आज बैठक बोलाएका हुन् । सभामुख अनुपस्थित भएपछि बैठकका लागि आवश्यक गणपूरक संख्या पुग्दैन, जसले गर्दा स्वतः बैठक स्थगित हुन्छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्‍न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ ।

नेपालको संविधानको धारा २८४ मा संविधानबमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ । प्रतिनिधिसभामा हाल उपसभामुख पद रिक्त छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार