देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारी र सार्वजनिक लिखत कीर्ते कार्यमा संलग्न एक पक्राउ

0

काठमाडौं – सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१८ घर भई हाल सोही महानगरपालिका-२५ भैँसेपाटी बस्ने ४१ वर्षीय रविन्द्र महर्जन रहेका छन् ।

भ्याली कन्स्ट्रक्सन प्रालिले ललितपुर पुल्चोक श्रीमहलस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी “चपुर-९ स्थित बहु तले अस्पताल भवन, मेडिटेसन हल, कक्षा कोठा र कम्पाउन्ड वाल समेत २०७१ भदौ २४ गते निर्माण कार्य सुरु गरी भ्याट बाहेक ४३ करोड ३७ लाख ५५ हजार ६ सय ९ रुपैयाँ ८८ पैसा २०७३ असोज ८ गते सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरीन्छ” भन्ने व्यहोरा उल्लेख गरी संस्थाका योजना अधिकृत गंगा कुमारी गुरुङ र शाखा अधिकृत दिर्घ कुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्रहरु कीर्ते गरेको खुल्न आएको छ ।

ती पत्रहरू विभिन्न मिति र समयमा नेपाल सरकारका विभिन्न निकायहरुद्वारा आव्हान गरिएका बोलपत्रहरुमा भाग लिने क्रममा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा बिकास समितिको अनुभवको प्रमाणितपत्र समेत संलग्न गरी सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने कार्यमा समेत उनी संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनको साथबाट १ थान मोबाइल, २ थान ल्यापटप, २ थान कम्प्युटरको सिपियु, ७ थान मागी गुम्बा समिति संस्थाको छाप सहितको खाली लेटरप्याड, १ थान मागी गुम्बा समिति संस्थाको छाप, मागी गुम्बा समिति संस्थासँगको सहमतिपत्र र बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको थप रकम निकासा सम्वन्धि लेखिएको चिठ्ठिको छायाँप्रति, २३ थान रकम समेत लेखिएको विभिन्न बैंकहरुको चेक लगायतका कागजपत्र प्रहरीले बरामद गरेको छ ।

पक्राउ महर्जन उपर लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार