देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकार एक चीन नीतिप्रति प्रतिबद्ध – परराष्ट्र मन्त्रालय

0
<p>तस्बिर : परराष्ट्र मन्त्रालय</p>

तस्बिर : परराष्ट्र मन्त्रालय

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।

तीन दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग शनिबार सिंहदरवारमा भएको द्विपक्षीय वार्तामा मन्त्री खड्काले चीनविरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाएका हुन्।

‘परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याए। दुवै पक्षले एकअर्काको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रिय स्वाधीनताका लागि आफ्नो समर्थन पुन: पुष्टि गरेका छन्,’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ।

‘उनीहरुले आपसी विश्वास र विश्वासलाई मजबुत बनाउन र नेपाल-चीन सम्बन्धलाई थप सुमधुर बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानको महत्वमा जोड दिए,’ विज्ञप्तिमा भनिएको छ।

‘दुवै देशका परराष्ट्रमन्त्रीले उच्चस्तरीय भ्रमणका क्रममा दुई देशबीच भएका समझदारी र समझदारीलाई कार्यान्वयन गर्नका साथै जारी आयोजनाको कार्यान्वयनलाई तीव्रता दिन दुवै पक्षबाट मिलेर प्रयास गर्नुपर्नेमा जोड दिए,’ विज्ञप्तिमा भनिएको छ।

दुई देशबीचको पर्यटन प्रवर्द्धन र जनताबीचको सम्पर्कलाई प्रवर्द्धन गर्ने उद्देश्यले कोभिड-१९ को महामारीका कारण अवरुद्ध भएको यात्रुबाहक हवाई सेवा चाँडै नै सुचारु गर्न दुवै पक्ष सहमत भएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्री खड्काले चीनमा रहेका नेपाली विद्यार्थीलाई अध्ययनका लागि चीन फर्कन सहजीकरण गर्न आग्रह गरेका थिए। त्यसमा चीन सरकारको पूर्ण सहयोग रहने र चाँडोभन्दा चाँडो प्रक्रिया सुरु गर्न वाङले जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ।

दुवै मन्त्रीबीच विभिन्न क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा पारस्परिक हितका विषयमा सहकार्यलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार