देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकार छ भन्न पाए भैगो नि !

0

भवनाथ आचार्य 

एउटा कोरोना नाम दिइएको भाइरसले सारा देश दुनियाँ आक्रान्त पारेको वर्तमान अवस्थामा म पनि यहि दुनियाँमा भएकै कारण होला सायद, सबै जस्तै आक्रान्त छु । यो बेला सरकारले गरेका निर्णय पुर्णतः पालना गर्नु एउटा नागरिकको कर्तव्य ठानी आम मानिस जस्तै जस्तोसुकै असह्ज परिस्थिति भए पनि लकडाउनमा छु । किताब, कापि कलम,हातेफोन,कम्प्युटर,टिभी, ईन्टरनेट अनि केटाकेटी सँगको सामिप्यताले लकडाउनलाई केही सहयोग पुगेकै छ , र पुग्नेछ ।

म त मेरो परिवार सँग रुखो पिठो, खोले फाँडो जे छ, खाएर आजका मितिसम्म जेनतेन जिएकै छु । तर ती भारतीय नाकामा अलपत्र परेका हजारौं नेपाली नागरिक के खाएर कसरी जिएका छन् ? दुबई, कतार, मलेसियाजस्ता कयौं मुलुकमा बैधानिक रूपमा बेचिएका नेपालीहरुको हकमा बेखबर त छैनौ नि ? अनि जापान, अष्ट्रेलिया अमेरिका आदि विकसित भनिएका मुलुकमा अध्ययनरत विद्यार्थीको के हाल छ ? तिम्रै तथ्यांकअनुसार करिब ६० लाख नेपाली मुलुक बाहिर छन् , तिनीहरु त ठिक छन नि सरकार  ? मलाई म ठिक हुनुपरेको होईन कि तिनीहरुका घरपरिवार आफन्तले सोधपुछ गर्दा चिन्ता लिनुपर्दैन मेरो सरकार छ भन्न पाए भैगो नी ।

परदेशका कुरा मात्रै के गर्नु ? सोलुखुम्बुको हाइड्रोपावरमा मजदुरी गर्ने वर्दियाको उमेश थारुको टोलि ठेकेदारसँगको सम्पर्क बिच्छेद हुँदा कहाँ कसरी लकडाउनको पालना गर्दै छ अहिले ? सिन्धुपाल्चोकमा घर बनाउन आएको दैलेखको पुर्णबहादुर लामिछानेको टोलि घर जान हिंडेको १० दिन भो तिन्को पैदली लकडाउन कता पुग्यो आज ? यी र यस्तै दैनिक ज्यालादारी गर्ने लाखौं श्रमिकले बिहान बेलुका हात मुख जोरेरै क्वारेन्टाइन मा बसेका छन् नि सरकार ? मलाई छाकटार्न धौ परेको होइन कि तिनीहरुलाई भोकभोकै मर्नुपर्दैन , मेरो सरकार छ भन्न् पाए भैगो नी ।

किसानहरु त खेतीपाती गर्न तयार छन् तर खेतीपातीका लागि आवस्यक रासायनिकमल, बीउ बिजन, औजार सामाग्री कता छन् ? आम नागरिकहरु जे जस्तो अवस्थामा भए पनि सरकारले गरेको निर्णय घरमै बसेर मान्न तयार छन् । तर काम नगरी घरमै बसेको अवस्थामा चुल्हो बाल्न नपर्ने / नपाईने निर्णय भएको हो र ? अस्पतालमा कोरोना बाहेक अन्यरोगको उपचार नहुने भएपछि नियमित चेकजाँच र दैनिक औषधि नखाँदा मान्छेले जस्तै रोगले पनि कुरा बुझ्छ हो सरकार ? मलाई अन्न, ओखती चाहिएको होइन कि कम्तीमा तिनीहरुलाई चाहिँ आत्तिनुपर्दैन सरकार साथमा छ भन्न पाए भैगो नी ।

लाखौं करोडौं ऋणको भरमा दुखजिलो गरेर ब्यबसाय गर्ने उद्योगी, ब्यबसायिहरु आफ्ना सम्बन्धित कर्मचारीहरुसँगै सरकारले लागु गरेको नियम पुर्ण पालन गरेर बसेका छन् । तिनीहरुले तिर्ने ब्याज अनि किस्तामा पनि लकडाउन छ हो ? लाखौं विद्यार्थीहरुको पढाई/परिक्षा अन्योलमा छ । तिनीहरुको भबिस्यको बारेमा पक्कै सोचिएको छ नि ? कोरोना उपचार तथा राहत कोषमा अरबौँ रकम जम्मा भएको र हुने क्रममा छ । यो रकम आफ्नो ज्यान जोखिममा राखेर उपचार, सुरक्षा लगायतका काममा अहोरात्र खटिएकाहरु सम्म पुग्छ नि ? मलाई यो सबै सेवा सुबिधा चाहिएको होईन कि ढुक्क हुनुस सरकार सँगै छ भन्न पाए भैगो नि ।

मलाई राम्रोसँग थाहा छ कि यो सरकारको बिरोध गर्ने बेला होइन सके सहयोग गर्ने हो नसके चुपचाप सरकारको नियम पालन गरेर घरमै बस्ने हो । सरकारलाई सहयोगगर्ने हैसियत त म सँग नहोला कि तर मेरो देशमा पनि यावत काण्डमा मुछिने, विपत्तिको बेला पनि मानवीय समवेदना सम्म गुमाइ भ्रष्टाचार, घुसपैठ, कमिसनको खेलमा रुमलिने मात्र नभइ अभिभावकको रूपमा आहतमा निर्धक्कसँग भरपर्दो सरकार छ भन्न त मलाई पनि रहर होला नि ! दैनिक जिवनमा दाल चामलको जोहो गर्न, केटाकेटीको पढाई खर्च टार्न, आफ्नो परिवार पाल्न, आफ्नो योग्यता क्षमता अनुसारको काम गरेर जिविकोपार्जनको लागि त म आफैं सक्षम छु नि ।

छन त गाउँ- गाउँमा, टोल- टोलमा साइज साइजका, तह-तहका सरकार छन् नि । तर ती सरकार म र म जस्ताका किन हुन सकेनन् ? कम्तीमा आहतमा राहत हुनेगरी त हामीले अनुभुती गर्न पाउनुपर्यो नि ! अहिलेको कोरोना जस्ता बिपत्ति त कति आउँछन् जान्छन् नि । राष्ट्रिय संकटको समयमा सरकारले दिएको आज्ञा पालना गरेर चुपचाप बसेको म बबुरोले कम्तीमा मुलुकमा बिपत्तिहरुमा, संकटमा मेरो सरकार मेरै लागि मसँगै छ भन्न् त पाउनुपर्ने होईन र ? मलाई अरु त के चाहिएको छ र यतिबेला भरपर्दो आडिलो अभिभावकको रूपमा म सँग मेरो सरकार छ भन्न् पाए भैगो नि ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार