देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकार र प्रतिपक्षी दुबैले जनताको पक्षमा सन्तोषजनक भुमिका नखेलेको कांग्रेस जिल्ला सभापतिहरूको निष्कर्ष

0

काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरूको बैठक सम्पन्न भएको छ । कांग्रेसका अधिकांश सभापति सहभागी जुम बैठकले नेकपाको वर्तमान सरकार नेपाली नागरिकको पीडामा अलिकति पनि संवेदनशील नभएको निष्कर्ष निकालेको बैठकमा सहभागी सिन्धुपाल्चोकका सभापति बिकास लामाले बताए ।

साथै नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले वर्तमान सरकारसँग कोरोना नियन्त्रणको लागि प्रभावकारी भुमिका खेल्न र जनताको निःशूल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नबाट कुनैकतै बहानामा नभाग्न आग्रह गरेका छन् । समस्यामा परेका सबै बर्ग पेशाका व्यवसायीहरूलाई राहत प्याकेज उपलब्ध गराउन र भ्रष्टाचार नियन्त्रण गरी कानूनी शासनको माध्यमबाट देश विकासमा आफ्नो सम्पूर्ण वैधानिक शक्ति सदुपयोग गर्न समेत सभापतिहरूले माग गरेका छन् ।

बैठक पछी सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ “झण्डै एकदशक लामो द्वन्द्व र सङ्क्रमणकाल पछि नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न निर्वाचनमा आर्थिक समृद्धि, राष्ट्रीय स्वाभिमानको अभिवृद्धि, स्थीरता, बिकास र संविधानको कार्यान्वयनको नारा र घोषणापत्र अघि सारेर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले तीनवटै तहका दुईतिहाईभन्दा बढी स्थानमा एकलौटी सरकार गठनको जनादेश पायो । तर दुर्भाग्य, परिणाम वचनवद्धताभन्दा धेरै टाढा रह्यो । चुनावी घोषणापत्र, नारा एवं प्रतिवद्धताहरू उडन्ते गफ सावित भए । जनतासँग गरेका कबुलको खिल्लि उडाउने कार्य भयो । सुशासन दिनुको सट्टामा सरकार एकपछि अर्को दुष्कर्ममा फस्दै गयो । भ्रष्टाचारका काण्डहरू दिननिदनै सार्वजनिक हुन थाले । आफ्नो विपक्षमा विचार राख्ने पार्टी, संस्था वा समूहसँग सरकार निर्मम रूपमा प्रस्तुत हुन थाल्यो । झुट्टा मुद्दा लगाउने, दुःख दिने कार्यहरू भए । आफ्नो स्वार्थ समूहहरूको स्वार्थ सिद्धिका लागि नाजायज ढंगबाट शक्ति प्रयोग गर्ने कार्यहरू भए । तलदेखि माथिसम्म भ्रष्टाचार संस्थागत हुँदै गयो । सरकार सत्ताधारी र आसेपासेलाई अकुत सम्पति आर्जन गर्ने हतियार बन्यो । सरकारी सम्पति र शक्तिको दुरूपयोग भयो । सरकारका यी र यस्तै क्रियाकलापहरूका कारणले जनतामा निराशा चरम छाइरहेको छ । सरकारले भनेका कुराहरूमा जनता विश्वास गर्नै नसक्ने अवस्थामा पुगेका छन् । प्रकारान्तरले संविधानसभाद्वारा निर्मित वर्तमान संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था बिरुद्ध नै मलजल गर्ने काममा यस सरकारका गतिविधिहरू उद्यत रहेका छन् ।”

सिन्धुपाल्चोक जिल्ला सभापति लामाका अनुसार कोभिड-१९ को यत्रो महामारी र संक्रमणका बेला समेत संविधानप्रदत्त जनताका मौलिक अधिकारको बिपक्षमा उभिने वर्तमान सरकार इतिहासकै सबैभन्दा विवादित, भ्रष्ट, बदनाम र जनविरोधी सरकार भएको छ । वर्तमान सरकार गरीब, निमुखा, असहाय, किसान, मजदुर, बेरोजगार कसैको पक्षमा नरहेको प्रष्ट छ । शिक्षा, स्वास्थ्य, जनजिविका र सामाजिक सुरक्षाको क्षेत्रमा सरकार पूर्णत: असफल भइसकेको छ । वर्तमान सरकारको कार्यशैली, नीतिगत अस्थिरता र प्राथमिकता निर्धारणमा देखिएका गंभीर विचलनको कारणले देश अहिले राजनीतिक, आर्थिक र सामाजिक रूपमा नै आक्रान्त छ । हुनुपर्ने र गर्नुपर्ने कुनै कार्यहरू भएका छैनन् । नहुनुपर्ने र नगर्नुपर्ने कार्यहरू सरकारका प्राथमिकतामा छन् । सरकारका कुनै पनि कदम जनताका पक्षमा भन्दा आफ्नै स्वार्थ समूहको हीतमा लक्षित छन । अन्तर्राष्ट्रीय सम्वन्ध अस्थीर, अपरिपक्व र असन्तुलित बन्दै गएको बिषयमा गम्भीर छलफल भएको हो ।

साथै “विश्वब्यापी कोरोना महामारीका बेला सरकारले गर्नुपर्ने पूर्व तयारी, सजगता र पूर्वाधार निर्माणमा आवश्यक तदारुकता नदेखाएका कारण संक्रमित तथा अन्य रोगीहरू अस्पतालसम्म नपुगी मर्नुपर्ने अवस्था सिर्जना भएको छ । गरीव असहाय जनताहरू पैसाको अभावमा उपचार गर्न नसकी र त्यसै मर्नुपर्ने अवस्थामा धकेलिएका छन । बजारमा अत्यावश्यक सामानहरूको चरम अभाव छ । कालोबजारी नियन्त्रण गर्ने सम्यन्त्र निकम्मा सावित भएका छन् । सर्वोच्च अदालतले दिएको आदेश पालना गर्नमासमेत सरकार आनाकानी गर्दैछ । किसानले समयमा नै मल बीउ पाएका छैनन् । उत्पादन भएका वस्तुहरू बजारसम्म पुग्न सकेका छैनन् । बिक्रि भएका कृषि उपजले न्यूनतम समर्थन मूल्य पनि पाएका छैनन् । ऊखु लगायतका उत्पादकले पुरानो भुक्तानीसमेत पाएका छैनन । सरकार बिचौलियाहरुसँग मिलेर असुली-धन्दा चलाई रहेको छ । मध्यम बर्गिय व्यवसायीहरूको दैनिकी दिन प्रतिदिन कष्टकर बन्दै छ । धेरैले रोजगारी गुमाएका छन् । मुलुक साह्रै बेथितिबाट चलेको कारणले जनता निस्सासिएर, छटपटाएर बस्न विवस भएका छन् । यस्तो अवस्थामा नेकपाको सरकार र यसका गतिबिधिहरू नियन्त्रण गरी र यस अवस्थाबाट जनतालाई मुक्ति दिलाउन नेपाली कांग्रेसले सशक्त रूपबाट जनताको पक्षमा उभिनु जरूरी भैसकेको छ । यो नै आजको आवश्यकता र लोकतान्त्रिक पार्टीको दायित्व पनि हो । वर्तमान् सरकारको गलत नीति, भूमिका र कृयाकलापको बिरुद्ध जनमुखी विकल्पहरू प्रस्तुत गर्दै जनताको घर दैलोमा पुग्नु अति आवश्यक छ । देश दिन प्रतिदिन खराव अवस्था-उन्मुख छ । सुधारको कतैकुनै सङ्केत देखिएको छैन । यस्तो अवस्थामा समेत संसदमा प्रतिपक्षको रूपमा रहेको हाम्रो पार्टी नेपाली काँग्रेस बेखवर झैं देखिनु सुखद होइन । संसदमा पार्टीको अवस्था कमजोर भएपनि सत्य र जनताको पक्षमा बलियोसँग आफ्ना कुराहरू राखेर दर्बिलो र गुणात्मक उपस्थिति जनाउनु पर्ने थियो जो भएकै छैन । यस्तै कारणले गर्दा जनता नेपाली काँग्रेस पार्टीप्रति सकारात्मक धारणा आउन सकेको छैन ।” विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको ऊर्जाशील प्रस्तुति र प्रभावको अभावमा सरकार झन् गैह्र जिम्मेदार र निकम्मा हुदैजाने भन्दै केन्द्र र प्रदेशका संसदमा पनि सभामुख र उपसभामुख एउटै पार्टीको राखेर संविधानको उलङ्घन गर्दा पनि प्रतिपक्षि बेखवर छ । यत्रो राष्ट्रीय संकटका बेला समेत संसद बैठक आव्हान गर्न पर्याप्त पहलकदमी नहुनु गंभीर चिन्ताको बिषय भएको बैठकको ठहर छ ।यस्तै एकातिर कोरोनाका कारणले देश आक्रान्त छ भने अर्कोतिर सरकारको कार्यशैलीका कारण लोकतन्त्र नै धरापमा पर्दै गएको छ । लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरू हुनै सक्दैन । त्यसैले लोकतान्त्रीक व्यवस्थालाई जनहितमा प्रभावकारी रूपबाट अगाडी बढाउनु र सङ्कटबाट देश र जनतालाई बचाउनु हामी काँग्रेसजनको कर्तब्य भएको बैठकको निष्कर्ष रहेको लामाले जानकारी दिए ।

“भर्खरै अमेरिकामा राष्ट्रपति निर्वाचन सम्पन्न भयो । भारतको बिहारमा पनि चुनाब सम्पन्न भयो । अरू धेरै देशमा लोकतान्त्रीक गतिविधि कोरनाको कहरका बीचमा पनि कायम राखिरहेका छन् । तर हाम्रो देशमा भने कोरोनाको डरलाई माध्यम बनाएर लोकतान्त्रीक गतिबिधि ठप्प गरिनु राम्रो मान्न सकिँदैन । त्यसैले अब जस्तो सुकै अवस्था भएपनि नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनका गतिविधिलाई आगाडि बढाउनै पर्छ । काँग्रेसको नेतृत्व यस जिम्मेवारीबाट कुनै बाहनामा पन्छिनु हुँदैन । वर्तमान सरकारको अलोकतान्त्रिक चरित्रको कारण भोलि यहि बहानामा सरकारले चुनाव नगर्न सक्छ र यदि काग्रेसले आफ्नो महाधिवेशन नगर्ने हो भने हामीलाई सरकारको चुनाव नगर्ने बहान बनाउन सक्छ ।” विज्ञप्तिमा भनिएको छ ।

यसका साथै सभापतिहरुले नेपाली काँग्रेस केन्द्रीय नेतृत्वसँग बिधि-विधान बिपरित यसबीच लिइएका निर्णयहरु तत्काल खारेज गरी पार्टीको लोकतान्त्रिकरण एवं सुदृढ़ीकरणमा ध्यान दिंदै आसन्न १४औँ महाधिवेशनको प्रक्रियालाई शीघ्र अगाडि बढाउन जोडदार माग गर्दै वर्तमान सरकारका जनविरोधी निर्णय, कामकार्वाही बिरुद्ध आन्दोलनको तयारीमा समेत योगदान पुग्नेगरी महाधिवेशनलाई महोत्सवको रूपमा अघि बढाउन अनुरोध गरेका छन् ।

उक्त कार्यक्रममा काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ, काभ्रेका सभापति मधु आचार्य, रोल्पाका अमर सिंह पुन, इलामका हिमालय कर्माचार्य, कालिकोटका हर्ष बम लगायत अधिकांश कांग्रेस जिल्ला सभापतिहरुको उपस्थिति रहेको सिन्धुपाल्चोक सभापति बिकास लामाले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार