देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा ३२ वर्षीय युवकको मृत्यु, प्रशासनले लगायो कर्फ्यु

0

काठमाडौं – प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा-६ का ३२ वर्षीय जयशंकर साह रहेको सर्लाही प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र पंजियारका अनुसार मृतक साहको मृत्युको कारण खुलेको छैन। ‘प्रदर्शनको क्रममा जयशंकर साहको मृत्यु भएको खुलेको छ। तर, के कारण मृत्यु भएको हो अनुसन्धान गर्दैछौं,’ उनले भने।

नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा बरहथवा नगरपालिकाका कार्यालय अगाडि शुक्रबार प्रदर्शन भएको हो। प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले १३ राउन्ड गोली हवाई फायर गरेको थियो। भीडलाई नियन्त्रणमा लिन १९ राउन्ड अश्रुग्यास समेत प्रहार भएको डीएसपी पंजियारले बताए।

सो विषयलाई लिएर भएको विवादले उग्ररुप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु लगाएको छ।

प्रशासनले बरहथवा नगरक्षेत्र (उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न र उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी कर्फ्यु लगाइएकव जनाएको छ।

प्रशासनले शुक्रबार साँझ ५:३० बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु जारी गरेको हो। आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही गर्न सक्ने प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले चेतावनी दिएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार