देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्वदलिय बैठकमा उच्चस्तरीय समिति बनाउने सहमती

0
<p>सोमबारको सर्वदलिय बैठकको फाइल फोटो</p>

सोमबारको सर्वदलिय बैठकको फाइल फोटो

काठमाडौं – सत्तापक्ष र प्रतिपक्ष सुनलगायत समग्र तस्करी प्रकरणको सूक्ष्म अध्ययन र विश्लेषणका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएका छन् ।

सोमबारको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धान प्रभावित नपार्ने गरी छुट्टै समिति बनाउन उनीहरूबीच सहमति जुटेको हो ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार साँझ मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका नेताको बैठकमा समिति बनाउने सहमति बने पनि कस्तो बन्ने, कहिले बन्ने र क्षेत्राधिकार के हुने भन्ने टुंगिएको छैन ।

यसको मोडालिटी तय गर्न बैठकले तीन सदस्यीय कार्यदल बनाएका छन् । कार्यदलमा एमालेका तर्फबाट दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी प्रमुख सचेतक हितराज पाण्डे छन् ।

कार्यदलले बनाएको मोडालिटीको मस्यौदा शीर्ष नेताहरूको बैठकमार्फत टुंग्याउने सहमति भएको छ ।

सहमतिसँगै १० साउनदेखि जारी सदनको गतिरोध हट्ने वातावरण बनेको छ । नेताहरूले गतिरोध हटेर मंगलबारदेखि संसद् सञ्चालन हुने बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक मंगलबार तोकिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार