देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्वदलीय बैठकमा सरकारको कार्यशैलीप्रति आलोचना

0

काठमाडौं  – संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सरकारको काम कारबाहीलाई लिएर विपक्षी दलका नेताले चर्को आलोचना गरेका हुन् ।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भ र राजवादीहरुको प्रर्दशनका विषयमा नेताहरुको धारणा माग गरेका थिए । त्यसपछि बोल्ने विपक्षी दलका नेताले सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको धारणा राखेका थिए । त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको र त्यसलाई अवसरवादीहरुले उपयोग गर्ने कोशिस गरेको नेताहरुले बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका नराम्रा कामबाट व्यवस्था विरोधी हौसिएको बताएका थिए। यही मौकामा व्यवस्था उल्टाउन सकिन्छ कि भनेर नसोच्नसमेत उनले चेतावनी दिएका थिए ।

कोभिड–१९ नियन्त्रण र उपचारमा सरकार चुकेको, संविधानको मर्म अनुरुप नचलेको, स्थानीय तहदेखि संघीय सरकारसम्म भ्रष्टाचारमा मुछिएको लगायतका विषय उठाएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

सरकार संविधानको मर्म अनुसार नचल्दा विभिन्न कोणबाट सडकमा असन्तुष्टि देखिएको उनको भनाई थियो । संघीय संसदको अधिवेशन तत्काल बोलाउन पनि सरकारसँग माग गरेको नेता महतले बताए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने आफ्नो भनाइ नराखी बीचमै बाहिरिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा बोलाएको सर्वदलीय छलफलमा विपक्षी दलहरूले सरकारले राम्रो काम गर्न नसके पनि अहिलेको प्रणाली र व्यवस्थाप्रति आन्दोलनप्रति साथ नरहने प्रतिवद्धता जनाएका छन् ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताले राजतन्त्रको पक्षमा भएका आन्दोलनमा नैतिक समर्थन जनाएको विषय उल्लेख गरेको नेता दिपक बोहराले बताए । उनले राजतन्त्रसहितको लोकतन्त्र र हिन्दू राष्ट्रका विषयमा सर्वदलीय बैठकमा छलफल गर्न प्रस्ताव गरेको भएपनि कुनै जवाफ नपाएको प्रतिक्रिया दिए ।

सबै दलका नेताहरुले धारणा राखिसकेपछि अन्तिममा प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दा गर्दै पनि आलोचना भएको गुनासो गरेका थिए । पछिल्लो समय संविधानको विपरीत हुने गरी राजावादी शक्तिहरु सलबलाएको भन्दै साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारबारेमा आएका आलोचना र सुझावलाई हार्दिकतापूर्वक लिने बताएका थिए। उनले यस्ता छलफलहरू गरिरहने समेत बताएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार