देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्वोच्चका न्यायाधीशलाई सरकारी क्वार्टर सार्ने तयारी

0

काठमाडौं – सरकारले अब सर्वोच्च अदालतका सबै न्यायाधीशलाई क्वार्टरको सुविधासँगै व्यवस्थापनमा लाग्ने सबै खर्चसमेत बेहोर्ने भएको छ।

हाल पुल्चोकस्थित मन्त्री क्वार्टरमा बसेका मन्त्रीहरूलाई भैंसेपाटीमा बनेको नयाँ मन्त्री क्वार्टरमा लगेर सर्वोच्चका न्यायाधीशहरूलाई पुरानो मन्त्री क्वार्टरमा सार्ने निर्णय सरकारले गरेको हो।

भैंसेपाटीमा मन्त्री क्वार्टर सार्नेबित्तिकै पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई ‘न्यायाधीश क्वार्टर’ बनाई सर्वोच्चका सबै न्यायाधीशलाई लाने निर्णय सरकारले गरेको सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले जानकारी दिए।

‘मन्त्री क्वार्टर भैंसेपाटीमा सरेपछि पुल्चोकका भवनहरू खाली हुनेछन्। ती भवनमा सर्वोच्चका न्यायाधीशहरूलाई लाने निर्णय मन्त्रिपरिषद्ले २०८० सालमै गरिसकेको छ,’ उनले भने, ‘सो निर्णयलाई कार्यान्वयमा लाने तयारी गर्दैै छौं।’

सहरी विकास सचिव गेलालका अनुसार सर्वोच्चमा दरबन्दी भएका प्रधानन्यायधीशसहित २१ जना न्यायाधीशमध्ये प्रधानन्यायाधीशका लागि बालुवाटारमा निवास छँदैछ। दरबन्दीअनुसार सबै न्यायधीश नियुक्त भए पनि २० न्यायाधीशलाई पुल्चोकमा लगिनेछ। बाँकी एक जना न्यायाधीशका लागि पुल्चोकमै एउटा भवन थपिनेछ। त्यसमा एउटा भवन बनाउने काम भइरहेको छ। पुल्चोकमा रहेको मन्त्री क्वार्टर ७२ रोपनी जग्गामा फैलिएको छ। त्यहाँको सञ्चालन र व्यवस्थापनको सबै खर्च व्यवस्थापन कार्यालयले बेहोर्दै आएको छ।

व्यवस्थापन कार्यालयले अति विशिष्ट ६ पदाधिकारी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख तथा राष्ट्रियसभा अध्यक्षका लागि दैनिक उपभोग्य वस्तुसमेत सरकारी खर्चमा उपलब्ध गराउने गरेको छ।

मन्त्रीहरूका लागि भने फर्निचर, सोेफा, सिरक, डसना, तन्ना, टेलिभिजन, बिजुली, पानीलगायत खर्च बेहोर्ने गरेको छ। एकपटक मन्त्री फेरिएपछि क्वार्टरमा मात्र करिब ६ लाख रूपैयाँ खर्च हुने व्यवस्थापन कार्यालयका एक कर्मचारी बताउँछन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार