देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सहकारी छानबिन समितिमा जुट्यो सहमति

0
<p>तस्बिर : प्रम सचिवालय</p>

तस्बिर : प्रम सचिवालय

काठमाडौं – विभिन्न सहकारीको बचत रकम अपचलन, हिनामिना र आर्थिक अनियमितताका सन्दर्भमा अध्ययन एवं अनुसन्धान गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेता र समितिको कार्यादेश बनाउने जिम्मा पाएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुटेको हो । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मङ्गलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकपछि समितिको कार्यादेश जारी हुने बताए । 

मन्त्री गिरीले भने, “प्रधानमन्त्रीको उपस्थितिमा कार्यदलका सदस्य पनि छलफलमा बस्यौँ । नेपाली कांग्रेसका नेताहरू पनि त्यहाँ रहनुभएको थियो । घनिभूत ढङ्गले यो समस्याको समाधान गर्नका निम्ति हामी प्रयासरत रह्यौँ । हामी करिब करिब सहमतिमै पुग्यौँ ।”

उनले सहकारीको रकम कसैले अपचलन गरेको भए जिम्मेवारीमा रहेका जोकसैमाथि पनि छानबिन हुने बताए । उनले भने, “पद उल्लेख गर्नै परेन, जोकोही जिम्मेवार छ भने छानबिनको दायरामा पर्छ । छानबिनपछि दोषी देखिए कारबाहीको दायरामा आउनु पर्छ, कारबाहीको भागीदार बन्नु पर्छ । यही हिसाबले हामीले निष्कर्ष निकालेका छौँ ।”

मङ्गलबार बिहान ११ बजे कार्यदलको बैठक बस्ने र कार्यादेशलाई अन्तिम रूप दिएर जारी गर्ने बताए । उनले भने, “मङ्गलबारदेखि संसद् सुचारु हुन्छ, यो जुन डेडलक छ, यसको अन्त्य पनि हुन्छ । संसदीय छानबिन समिति पनि बन्छ । कार्यादेश जारी हुन्छ । त्यसपछि सबै कुरा व्यवस्थित रूपले अगाडि बढ्ने अवस्था बन्छ ।” 

कांग्रेस नेता लेखकले गम्भीर छलफलपछि निष्कर्ष उन्मुख भएको बताए । उनले भने, “कार्यादेश मङ्गलबार फाइनल हुन्छ । सहकारीमा भएको अपचलन, हिनामिना बारेमा छानबिन हुन्छ, अनुसन्धान हुन्छ ।”

बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता सहभागी थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार