देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सहकारी पीडितको पक्षमा कांग्रेसले जेठ १३ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने

0

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी पीडितको पक्षमा उभिने निर्णय गरेको छ।

पार्टी कार्यालयमा सानेमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको बचत फिर्ता नभएसम्म कांग्रेसले सडक र सदनबाट आन्दोलन जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।

महतका अनुसार कांग्रेसको काठमाडौं कमिटीले जेठ १३ गते काठमाडौंको भृकुटी मण्डपमा विशाल प्रदर्शन गर्ने उनले बताए।

‘देशभरि सहकारीका लाखौं बचतकर्ताहरू पीडित भएका छन्। त्यसलाई गम्भीरताका साथ लिँदै कांग्रेस पीडितको पक्षमा उभिने निर्णय गरेको छ। उहाँहरूको बचत फिर्ता नभएसम्म र अपचलन गर्नेहरूलाई कानुनी कारबाही नगरेसम्म हामीलै सडक र सदनबाट आन्दोलन गर्छौं,’ बैठकको निर्णय सुनाउँदै उनले भने। 

त्यस्तै गृहमन्त्री रवि लामिछाने पदमा रहेकै कारण उनीविरुद्ध छानबिन हुन नसकेको कांग्रेसको ठहर छ। ‘उपप्रधान तथा गृहमन्त्रीको गोरखा मिडियामार्फत् विभिन्न सहकारीका झन्डै एक अर्ब रुपैयाँ दुरुपयोग भएको छ। गृहमन्त्री भएकै कारण उनीविरुद्ध सुरक्षा निकायबाट छानबिन हुन सकेको छैन। प्रधानमन्त्री र आइजीपीलगायतले आलटाल जवाफ दिइरहेका छन्। त्यसैले हामीले संसदीय छानबिन समिति मागेका हौं,’ उनले भने।

कांग्रेसले संसदमा सभामुखले खेलेको भूमिकाप्रति पनि आपत्ति जनाएको छ। ‘संसदमा महत्वपूर्ण विषयलाई लिएर निरन्तर आवाज उठाइराख्दा सरकारले बेवास्ता गरेर संसदीय मर्यादा खिलाप प्रस्तुत भएको छ। सभामुखले पनि संसदीय गरिमाको पालना गरेका छैनन्। प्रधानमन्त्रीले लिएको विश्वासको मतलाई कांग्रेसले गम्भीरतका साथ लिएको छ। संसदको दृश्य संसदीय व्यवस्था र लोकतान्त्रको मर्म विपरीत छ,’ प्रवक्ता महतले भने।

कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएको छ। सहकारीको विषयमा निरन्तर समाचार प्रकाशन गर्दै आएको कान्तिपुरमाथि गृहमन्त्री लामिछानेले प्रतिशोध साँधेको प्रवक्ता महतले बताए। उनले सिरोहियाको पक्राउलाई लिएर कांग्रेसले घोर भर्त्सना गरेको बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार