देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सहकारी मिटरब्याज, १० लाख ऋणको ब्याज ८५ लाख

0

काठमाडौं – पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ ।

दीर्घनारायणले भने, “चिन्ताले म डिप्रेसनको सिकार भएको छु । औषधि खानुपर्ने बनायो । छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ । यो तनावबाट परिवारै उम्कन सकेका छैनौँ ।”

भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचतकर्ता भएकी हुन् । त्यसको पाँच महिनापछि १० लाख रुपियाँ लगानी गरेर सेयर सदस्य भइन् । सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो । सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक पुख्र्यौली घर पर्वतका गाउँले भान्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले बताउँदै भने, “भान्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपियाँ ऋण लियौँ । अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपियाँ सकिइसकेको छ ।”

२०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपियाँ पु¥याइयो । त्यो ६० लाख असुल गर्नका लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो । उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपियाँ उपलब्ध गराइयो । छिपछिपे सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे नै सनराइज सहकारीको सचिव रहेको जानकारी दिइएको छ ।

२०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपियाँ पुगेको थियो । त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपियाँ पु¥याइयो । उता सनराइजको ब्याज महिना महिनामा तिरेको ३० लाख र छ महिना अघिसम्मको जोड्दा थप एक करोड २६ लाख रुपियाँ पुगिसकेको थियो । त्यो ब्याज तिर्नका लागि भुर्तेल परिवार चार करोड रुपियाँ पर्ने जग्गा दुई करोड रुपियाँमै बेच्न बाध्य भयो र सनराइजको बाँकी रहेको एक करोड २६ लाख तथा छिपछिपेको ८५ लाख १६ हजार साँवा ब्याज तिरेर चुक्ता गरिसकेको छ ।

यहाँसम्म आइपुग्दा भुर्तेल परिवारले सनराइजलाई एक करोड ५६ लाख रुपियाँ र छिपछिपेलाई एक करोड १९ लाख रुपियाँ गरी दुई करोड ७५ लाख रुपियाँ बुझाइसकेको बताएको छ । जसमा २०७२ सालमा छिपछिपेमा राखेको १० लाख रुपियाँबराबरको सेयरको हिसाबकिताब र मासिक बचतको हिसाब कतै देखिन्न । सनराइज सहकारी भने बचतकर्ताको रकम हिनामिना गरेर बन्द भइसकेको छ ।

नवलपुर प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । छिपछिपेका प्रबन्ध निर्देशक योगेन्द्र पाण्डे, सनराइज सहकारी चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमाल र सहकारीबाट हिनामिना गरिएको रकम व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलाई पक्राउ गरिएको नवलपुरका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिए । “सरकारीमार्फत बचतकर्ताको रकम हिनामिनामा ठुलो गिरोह सक्रिय भएको देखिएकाले प्रहरीले अनुसन्धानलाई तीव्रता दिइएको छ,” उनले भने ।

फिर्ता भएन धितो

२०८० साल भदौ ६ गते सबै रकम तिरिसक्दा पनि २०७७ सालमा छिपछिपेमा धितो राखेको ३, ४ र ९० कित्ता नम्बरको दुई बिघा १८ कट्ठा जग्गाको तीन वटा जग्गा धनीपुर्जा भुर्तेल परिवारले फिर्ता पाउन सकेको छैन । उक्त पुर्जा छिपछिपेले राष्ट्रिय सहकारी बैङ्कमा धितो राखेर आफैँले ऋण लिएकाले ऋण तिर्न नसक्दा फिर्ता हुन सकेको छैन । राष्ट्रिय सहकारी बैङ्कका अनुसार छिपछिपेले झन्डै १६ लाख रुपियाँ तिर्न नसकेर भुर्तेल परिवारको जग्गा धनीपुर्जा बन्धक बनेको हो ।

अनुसन्धान हुँदै

छिपछिपेले बचतकर्ताको १० करोड रुपियाँ हिनामिना गरेको शङ्कामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पनि छानबिन गरिरहेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको उजुरीका आधारमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको हो ।

२०७२ देखि २०७९ सम्म एउटै व्यक्ति (योगेन्द्र पाण्डे) सहकारीको अध्यक्ष र व्यवस्थापक भएर बचत हिनामिना गरेको छानबिनका क्रममा देखिएको छ । पाण्डेले सहकारीको रकम मिटरब्याजमा समेत लगानी गरेको शङ्कामा सहकारी रजिस्ट्रार र प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएका छन् ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय प्रमुख भेषराज रिजालले पाण्डेले सहकारीकै रकम झिकेर मिटरब्याजमा लगाएको तथा बिनाधितो आफू र नजिकका व्यक्तिलाई कर्जा प्रवाह गरेकोसमेत छानबिनका क्रममा देखिएको बताए । पाण्डेले चितवनको एउटा सहकारी संस्थामा करिब एक करोड र बर्दियाको सहकारीमा करिब ९० लाख रुपियाँ रकमान्तर गरेको पाइएको पनि उनले बताए ।

व्यवस्थापक पाण्डेले कावासोती–१६ मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर २०७९ पुसमा सहकारीबाट आफैँले ३२ लाख रुपियाँ ऋण लिएका थिए । सहकारीका वर्तमान अध्यक्ष गोपी शर्माले सञ्चालक समितिको बैठकबिनै जग्गाको नक्कली कागजात बनाएर पाण्डेले मालपोतबाट धितो फुकुवा गराएर अन्तै बिक्री गरिसकेको जानकारी दिए ।

लामो समयसम्म एउटै व्यक्ति सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापक रहेर तालुकदार निकायमा वर्षौंसम्म हिसाब पेस नगर्दासमेत संस्थाको निगरानी गर्ने प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय बेखबर रहेको बचतकर्ताको आरोप छ ।

पाण्डेले आफैँ सहकारीको अध्यक्ष र निर्देशक बनेर आफ्नी बहिनी नाता पर्ने (सानीआमाकी छोरी) सुनीताकुमारी न्यौपानेलाई व्यवस्थापक बनाएरसमेत रकम हिनामिना गरेको पाइएको वर्तमान अध्यक्ष शर्माले बताए। पाण्डेले बचतकर्ताको रकममा गम्भीर अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान गरिरहेको र सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनपछि थप प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । गोरखापत्र दैनिकबाट

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार