देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साना तथा मझौला उद्योगदेखि ठूला उद्योग जोगाउने नेतृत्वका अबश्यकता

0
  • सुमन खत्री

नीजि क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा केन्द्रमा नेपाल उद्योग वाणिज्य संघ र जिल्लाको हकमा जिल्ला उद्योग वाणिज्य संघ भएको कारण पनि महासंघ र संघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा केन्द्रमा महासंघको संलग्नता हुने गरेको छ भने जिल्लामा संघको संलग्नता हुने गरेको छ त्यो अझै जारी रहेको छ ।

यहाँ महासंघको बारेमा भन्दा पनि जिल्ला उद्योग वाणिज्य संघका बारेमा लेखेको छु । संघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धनका साथै जिल्लामा भएका उद्योगधन्दाका समस्या समधान गर्ने नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नु पर्नेमा दुईमत छैन ।

यसैकारण संघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न अब संघको नेतृत्व राख्नेहरुले पहिलो प्राथमिकता दिनु पर्ने देखिन्छ । संघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि राजनीतिक नेतृत्वकोमा धाउनु पर्ने अवस्था अन्त्य गरेर संघकै नेतृत्वले समाधान दिन सक्नेलाई संघको जिम्मेवारी दिनु पर्ने समेत देखिन्छ । संघले आफ्नो प्रतिष्ठा जोगाउदै जिल्ला भित्र रहेका वाणिज्य व्यापारदेखि साना तथा मझौला उद्योगमा पनि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्वले ध्यान दिनु पर्ने छ । अहिलेसम्म संघको नेतृत्व गरेकाहरुले चीनबाट आयात गरिने सामान र सो सामान क्यारिङ गर्नेको पक्षमा बढीमात्रामा आवाज उठाएको पक्कै हो । उठाउनु पनि पर्छ । तर, सो आवाज उठाई रहदाँ स्थानीय स्तरमा स्थापना गरिएका साना ठूला र मझौला उद्योगलाई पनि उत्तिकै प्राथमिकतामा राख्नु पर्नेमा त्यसो गरेको पाईएको छैन ।

कुनै पुर्वअध्यक्षहरुको समुहले सो बारेमा खासै योजना समेत ल्याएको भेटिएको छैन । जसका कारण आज केही वर्ष तातोपानी भन्सार नाका बन्द हुदाँ अधिकाशं व्यवसायीहरु विस्तापीत हुनु परेको तीतो अनुभब हामीसंग रहेको छ । बेलैमा वाणिज्य व्यापारसंगै कुटिर उद्योग, साना उद्योगधन्दालाई पनि संगै अगाडी बढाउन सकेको भए आज सो नाका बन्द भएको समयमा आयआर्जन गर्नबाट व्यवसायीहरु बञ्चित हुनु पर्ने थिएन । अब पनि सो बारेमा आउने नयाँ नेतृत्वले बेलैमा योजना नबनाउने हो र कार्यान्वयन नगर्ने हो भने संघको नेतृत्व लिन अगाडी बढ्नु उचित हुने छैन ।

सिन्धु वाणिज्य संघको नेतृत्वकालागि अहिले बजारमा नाम आएकामध्ये अधिकाशं संघको नेतृत्व तहमै लामो समयदेखि रहेकाहरु नै रहेका छन् । उनीहरुले जिल्ला भित्र रहेका उद्योगधन्दा त्यसमापनि साना उद्योगधन्दा चलाउदै आएकाको सम्बन्धमा के कस्ता योजनाहरु ल्याए र कार्यान्वयन गरे अनी त्यो योजनाबाट कति जना उद्योगीहरुले सुविधा पाए भन्ने प्रश्न अहिले चौतर्फी गरिन थालेको छ । हो त्यही प्रश्नको उत्तरसंगै साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्नकैलागि संघको नेतृत्वमा सिण्डिकेट भित्रबाट आएकालाई जिम्मा दिनेभन्दा पनि स्वतन्त्र रुपमा उद्योग व्यवसायीहरुको दुःखलाई बुझेको र समस्या समधान गर्न सक्नेलाई संघको नेतृत्व जिम्मा दिनु पर्ने अबस्था रहेको छ । आजसम्म जिल्लाको नेतृत्व सिण्डिकेट बाटमात्रा आएकाले सार्वजनिक पदमा पुगेपछि उद्योग व्यवसायीहरुको हकहितमा केही नगरेकै कारण उद्योग वाणिज्य संघ बदनाम समेत हुन पुगेको छ । संघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्नेमा पनि दुईमत छैन । संघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्नेमा आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान समेत दिएका छैनन् ।

हामीलाई पनि ठूला व्यवसायी सरह व्यवहार गर्ने नेतृत्व हामीलाई आवश्यक रहेको छ । अघिल्ला नेतृत्वकर्ताहरुकै कारण संघको गरिमा दैनिक रुपमा घट्दो क्रममा रहन गएको छ । यो अवस्थाबाट जोगाउने नेतृत्वको आवश्यक छ । हाम्रो ठूलो अपेक्षा केही छैन । उद्योग वाणिज्य संघका आ–आफ्नै समस्या छन् । तर, सरकार र नीजि क्षेत्रलाई समन्वय गरेर अगाडि बढ्ने नेतृत्वको आवश्यक छ । साना तथा मझौला व्यवसायीलाई पनि ठूला उद्योगीहरु सरह व्यवहार गर्ने नेतृत्वको खोजी अहिले भै रहेको छ । २०४६ सालपछि केही वर्षसम्म हाम्रो अर्थतन्त्र राम्रो भयो । तर त्यसपछि विस्तारै हाम्रो अर्थतन्त्र ओरालो लाग्दै गयो जुन अहिले पनि निरन्तरता पाएको छ ।

त्यसो हुनुमा औद्योगिक नीतिहरुमा सुधार गर्नुको साटो व्यापारलाई सहजीकरण गर्ने ढंगले नीति निर्माण गर्न थालियो । साना तथा मझौला उद्योगहरु विस्तारै बन्द हुँदै गए । संघको नेतृत्व लिएकाहरुले पनि सो बारेमा चासो नदिएपछि भएका साना तथा मझौला उद्योगहरु अधिकाशं बन्द भए । बन्द भएपछि किन र के कारणले बन्द भए भनेर खोजी जिल्ला उद्योग संघहरुले गर्नुपर्नेमा त्यसो कहिल्यै गर्न सकेन । के कुरालाई उत्पादनमूलक भन्ने, के कुरालाई अनुत्पादक भन्ने बारेमा पनि संघको नेतृत्व लिएकाहरुले गर्न सकेनन् । यस मानेमा सरकार मात्रै होइन हामी नीजि क्षेत्र र अन्य कैयौं सरोकारवाला समुदाय पनि उस्तै जिम्मेवार छन् ।

सरकार र सरकारी नीतिमात्रै होईन, निजी क्षेत्रका कयौं मानिसहरु पनि आयातमूखि नीति तर्जुमा गराउनमा दिलोज्यानले प्रयास गरे । यसरी स्थानीय उत्पादनका साथै साना उद्योग, मझौला उद्योगहुँदै हाइड्रोपावरमा समेत संघको नेतृत्वले खासै ध्यान पु¥याएको देखिदैन । अर्कोतर्फ सिन्धुपाल्चोक जिल्लाको भौगोलीक अबस्थाले ३ जिल्ला सो सरह रहेको छ । बाह्रविसे, चौतारा र मेलम्चीका उद्यमी तथा व्यवसायीका हकमा कुनै एक स्थानमा बसेर बनाउने योजना समेत सवैक्षेत्रमा लागु गर्न र कार्यान्वयन गर्न नसकिने अबस्था रहेको छ । यसतर्फ पनि अब आउने नयाँ नेतृत्वले विशेष ध्यान दिनु पर्ने छ । बाह्रविसेको भौगोलिक अबस्थालाई हेरेर बनाएको योजान चौतारा र मेलम्ची क्षेत्रमा लागु नहुन पनि सक्ने भएकाले संघको नेतृत्व लिनेले सो विषयमा विशेष ध्यान दिनुको विकल्प समेत छैन ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्व लिई सकेका र नेतृत्व पुरा गरि निवर्तमान हुनै लागेका अध्यक्षको पदाधिकारीहरुले बढीमात्रामा आयातमुखी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेको प्रष्ट हुन्छ । वाणिज्य व्यवसाय र व्यवसायीलाई पनि विशेष योजना बनाएर जानु पर्छ तर त्यो संगै साना तथा मझौता उद्योगधन्दालाई पनि उत्तिकै महत्व दिनु पर्नेमा त्यसो हुन सकेको छैन । जसको कारण उपभोक्ता मंहगीको मारमा परेका छन भने उद्योगीहरु विस्तापीत हुनु परेको छ । जसको कारण संस्थाको नेतृत्व लिएकाहरुबाट समयमा सही निर्णय र योजना बनाउन नसक्दा यो अबस्था आएको हो । संघको नेतृत्व गरेका जिल्लाका पूर्वअध्याक्षहरु उद्योग व्यवसायीहरुको समस्या दीर्घकालिन रुपमा समधान गर्ने उपाय खोज्नेभन्दा पनि चर्चा बटुल्ने कार्यमा सिमिति हुन पुगे ।

संघको नेतृत्व लिन दलको पाउ पर्नेदेखि अनेके हतकण्डा अपनाउन समेत पछि नहट्ने, तर नेतृत्व लिएपछि आम उद्योगी व्यवसायी र संघमा आबद्ध भएका सदस्यहरुलाई समेत व्यवस्ता गर्ने गरेका कारण व्यवसायीहरु दलदलमा फस्दै गए । अब पनि संघको नेतृत्व गर्नेमा सामाजिक अबधारण भएको, समाज अनि त्यसपछि देश र अरुकालागि काम गर्ने नेतृत्व गर्छुभन्नेलाई संघको जिम्मेवारी नदिने हो भने झन भयाभह अबस्था हामी उद्योगीहरुले भोग्नु पर्ने अबस्था आउने छ ।

यसै सन्दर्भमा संघको ११ औं अधिवेशन यही चतै ९–१० गते हुँदैछ । जतिजति अधिबेशन नजिकिदै गएको छ त्यतिनै संघको नेतृत्व लिनेको आकांक्षा बढ्दै जानु स्वभाविक नै हो । संघको अध्यक्ष भएर नाम मात्र लेखाउने भन्दापनि काम गरेर देखाउने नेतृत्वको खाँचो सिन्धु उद्योग वाणिज्य संघलाई आबश्यक रहेकोे छ । संघको अध्यक्ष हुनु कुनै नौलो कुरा होइन, तर नेतृत्वमा पुगेपछि सामाजिक भाबनाले काम गर्नु पर्ने चुनौती रहेको छ । त्यो पुरा गर्छु भन्ने मित्रहरुले संघको जिम्मेवारी लिनु आबश्यक छ । व्यापारी, व्यवसायी र उद्यमीका लागि केही गर्ने उद्देश्य राखेर नेतृत्व लिन पर्छ । साथै नयाँलाई अवसर दिने परिपाटी बसाउनु पर्ने छ । साना तथा मझौला उद्योगी तथा साना घरेलुमैत्री उद्योगलाई लक्षित गरेर काम गर्ने र योजना लिएर हाम्रो नेतृत्व अगाडि आएको छ ।

माथि उठाएका विषयमा के कसरी कार्यसम्पादन गर्ने गराउने भन्ने योजना समेत रहेकाले हामी साना तथा मझौला उद्योगीदेखि ठूलो उद्योगीहरुलाई समेत समेटेर अगाडि बढाउने समेत विश्वास दिलाउने छौ । जिल्लाभित्र रहेका साना तथा मझौला उद्योगहरु जस्तै कुटानीपिसानी मिलदेखि फर्निचर उद्योग हुँदै हाइड्रोपावरसम्म निर्माणको वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको छ । अन्तमा, म यहाँ कोही प्रति आरोप प्रत्यारोप भन्दापनि म मेरो टिमले केही गरेर देखाउने इच्छाशक्ति सहित हामी मैदानमा आएका छौं । हाम्रा सामु दर्जनौ चुनौती पनि छन् । हामी बाद र विचारभन्दा माथी उठी समग्र उद्यमीको हितका खÞातिर अस्तित्वमा रहेका दलका नेतासंग समेत राय लिएर अगाड़ी बढ़ने प्रतिबद्धता व्यक्त गर्दछौ, किनकी नीति निर्माण तहमा राजनीतिक दल र तीनका नेता छन् । माथी उठाईएका विषय वस्तु केवल चुनावी नारा मात्र नभै कार्यान्वयन गर्नकै निम्ति उठाईएका हुन । जुन विषय कार्यान्वयनका लागी अब हामीलाई हाम्रो हातमा नेतृत्व चाहिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार