देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सामाजिक सुरक्षाबारे जापानी विज्ञ र ट्रेड युनियन कांग्रेसबीच अनुभव साटासाट

0

काठमाडौं – नेपाल ट्रेड युनियन कांग्रेस र जापानका सामाजिक सुरक्षा विज्ञबीच सामाजिक सुरक्षाबारे अनुभव साटासाट भएको छ ।

आइतबार युनियनको केन्द्रीय कार्यालय अनामनगरमा युनियन पदाधिकारी र जापानका श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सामाजिक सुरक्षा विज्ञ कोइची ओयामा एवं जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जीलाफ) का प्रतिनिधिबीच दुई देशको सामाजिक सुरक्षा योजनाबारे अनुभव साटासाट भएको नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिए ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको वर्तमान अवस्था र चुनौतीबारे जानकारी गराएका थिए ।

उनले सामाजिक सुरक्षा योजनाले औषधि उपचार, स्वास्थ्य तथा मात्तृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रीत परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनालाई समेटेको बताए ।

अझै पनि योजना प्रभावकारी कार्यान्वयन हुन नसकेको र योगदानकर्ताको परिवारलाई समेत स्वास्थ्य उपचार योजनाले समेट्नुपर्ने, बेरोजगार बखत भत्ताको व्यवस्था हुनुपर्ने, अनौपचारिक एवं स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्नुपर्ने मागहरु उठिरहेको उनको भनाई थियो ।

यसैगरी जापानको सामाजिक सुरक्षाबारे जापानी सामाजिक सुरक्षा विज्ञ ओयामाले बेरोजगार बिमा, दुर्घटना बिमा, स्वास्थ्य उपचार तथा दुर्घटना योजना ( काम नभएको अवस्थामा समेत) , पेन्सन योजना र वृद्ध कियर गिभर योजनालाई सामाजिक सुरक्षाले समेटेको बताए । जापानमा जेष्ठ नागरिकको संख्या बढ्दै गएकोले कियर गिभर , पेन्सन र स्वास्थ्य बिमामा धेरै पैसा लागेकोले चुनौती बढेको ओयामाको भनाई थियो ।

कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय  कार्यालय अनामनगरमा सम्पन्न भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार