देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न ट्रेड युनियनहरुको माग

0

काठमाडौं – तीनवटा ट्रेड युनियनहरुले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्नेगरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन् । सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल ट्रेड युनियन कांग्रेस , नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका हुन् ।

बुधबार काठमाण्डौंमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले संयुक्त विज्ञप्ती जारी गर्दै ९ बुँदे माग सार्वजनिक गरेका हुन् ।

रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगारबीमा योजनालाई तत्काल सुरु गर्न समेत ट्रेड युनियनहरुले माग गरेका छन् ।योगदानकर्ताको आश्रित परिवारलाई समेट्ने गरी स्वास्थ्य तथा उपचार सुविधामा परिमार्जन पनि युनियनका अध्यक्षहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अवकाशपछिको स्वास्थ्य सुरक्षा समेत समेट्ने गरी कार्यक्रम विस्तार गर्नु पर्ने, सामाजिक सुरक्षा कोषमा उपदान वा अवकाश कोषकै रुपमा स्वेच्छिक रुपले तोकिएभन्दा बढी रकम जम्मा गर्ने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएको अध्यक्षहरुले बताए ।

ट्रेड युनियनहरुले सामाजिक सुरक्षा कार्यक्रमको सचेतनाका लागि नेपाल सरकार, रोजगारदाता संघ र ट्रेड युनियन महासंघहरुले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने, संचयकोष तथा उपदान व्वस्थापन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐनसाग बाझिएका ऐन नियमहरु परिमार्जन गर्नुपर्ने माग रहेको नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष तेजेन्द्र कार्कीले बताए ।

अहिलेसम्म करिब १३ हजार प्रतिष्ठानका १ लाख ७९ हजार ३ सय ४० श्रमिक कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा सूचिकृत भएपनि अझै धेरै क्षेत्रलाई यसले आकर्षण गर्न सकेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार