देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साहुकारले जग्गा खाइदिएपछि न्याय माग्दै पीडितहरु काठमाडौंमा

0

काठमाडौं – सलार्हीको बागमती वडा नम्बर ७ राजघाटका जवाहर साहले २०६८ सालमा स्थानीय साहुकार रामबाबु रायसँग १२ लाख ५० हजार ऋण लिए । जग्गा खरिद गर्दा लागेको ऋणको व्याज तिर्न साहले जग्गा दृष्टिबन्धक राखेर ऋण लिएका थिए ।
४५ वर्षीय साहले १६ कट्ठा जग्गा दृष्टिबन्धक राखेर रायसँग २०६८ सालमा १२ लाख ५० हजार ऋण लिए । ३६ प्रतिशत व्याज लिने शर्तमा साहुकार रायले २३ लाखको कपाली तमसुक बनाए । २०७१ भदौ ८ गतेसम्म शाहले १७ लाख बुझाइसकेको देखिन्छ । जब साह जग्गा फिर्ता लिन गए, तबसम्म रायले उनको जग्गा अर्कैलाई बेचिसकेका रहेछन् । त्यसमाथि साहुकार रायले शाहलाई ऋण लिएको १२ लाखको ब्याजसमेत गरेर थप ४५ लाख तिर्नुपर्ने हिसाब देखाए ।

सोही ठाउँका ४५ वर्षीय मोहन साहले पनि रायसँग आफ्ना बुबाले लिएका ऋणको व्याज विगत १५ वर्षदेखि तिरिरहेका छन् । रायको ऋण तिर्नकै लागि मोहनका बुबाले एक बिघा जग्गा बेचेका थिए । मोहनले पनि २ बिघा २ कट्ठा जग्गा रायकोमा दृष्टिबन्धक राखेका छन् । मोहनले अझै पनि रायलाई पैसा बुझाइरहेका छन् । तर, बुबाले कति ऋण लिए मोहनलाई केही थाहा छैन । न त रायले नै उनलाई हिसाब देखाउँछन् ।

चर्को व्याज असुलेर स्थानीयको घरजग्गा हडप्ने रामबाबु राय यादव राजपाका केन्द्रीय सदस्य हुन् । गत निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा पराजित उनले गरिबी फाइदा उठाउँदै त्यहाँका धेरैलाई झुक्याएर जग्गा हडपेका छन् ।

रायजस्तै सर्लाही ब्रम्हपुरीका सञ्जय साह रौनियारले पनि चर्को व्याजदरमा ऋण दिएर सर्वसाधारणलाई झुक्याएर उनीहरुको जग्गा आफ्नो नाममा गर्दै आएका छन् । धनुषाका वीरेन्द्र यादवले ढल्केबरमा जग्गा किन्न रौनियारबाट दुई करोड ऋण लिएका थिए । ३६ प्रतिशत ब्याजदर सहित रौनियारले ५ करोड ९० लाखको कागज बनाए । रौनियनरले भनेजति पैसा वीरेन्द्रले तिरिसके । यद्यपी आफुले पैसा नपाएको भन्दै रौनियारले ढल्केबरमा वीरेन्द्रले किनेका जग्गा समेत लिइसके ।

राय र रौनियारले यसैगरी सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहटलगायत ठाउँका धेरैको दुष्टिबन्धकी राखेको जग्गा रजिष्ट्रेसन नै पास गरेका छन् । उनीहरुले एक हजारभन्दा धेरैबाट पाँच अर्बभन्दा बढी रकमको कागज गराएको पीडितहरूले बताएका छन् ।

साहुकारले घरजग्गा खोसिदिएपछि झण्डै सय जना पीडित काठमाडौं आएका छन् । न्याय माग्दै केन्द्रीय राजधानी काठमाडौं आाइपुगेका उनीहरुले प्रधानमन्त्रीलाई भेट्न चाहेका छन् । केही राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटिसकेका उनीहरुले न्याय नपाएसम्म घर नफर्कने बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार