देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिंहदरबारबाट गाउँ आएको सरकार तेम्बाथाङ पुगेन

0

सिन्धुपाल्चोक – १६ वर्षको किशोर अवस्थामा भारत छिरेका साहिँला शेर्पा अहिले ५८ वर्षका भए । हिमाञ्चल प्रदेशको कुल्लुमनालीमा रोजगारी गर्ने शेर्पा अखिल भारत नेपाली एकता समाजका जिल्ला अध्यक्षसमेत हुन् । सयौँ नेपाली मजदुरका लागि भारतमा पनि संघर्ष गरिरहेका उनी श्रीमती, परिवार र आफन्त भेट्न बर्सेनि गाउँ फर्कन्छन् । घाँस र लहरामा झुन्डिएर घर आएको परदेशी पाउँदा जति परिवार र आफन्त खुसी देखिन्छन् त्यति नै दुखित पनि हुन्छन् । कारण हो ज्यानमारा भूगोल । जिल्लाको विकट गाउँ गुम्बाथाङबाट करिब ५० किलोमिटर हिँडेपछि जुगल हिमालमुनि रहेको शेर्पागाउँ तेम्बाथाङ पुगिन्छ । लग्यापजंगल, नेसम खोला र भीरपहरा पार गरेर पुगिने एउटा सुन्दर गाउँको पीडा भने अत्यासलाग्दो छ ।

‘चार दशकदेखि बर्सेनि घर आइरहेको छु । तर, मेरो गाउँ पुग्ने भिरको ढुंगा आजसम्म जस्ताको तस्तै छ,’ उनले भने, ‘न कुनै विकास छ, न त जनतामा कुनै परिवर्तन आएको छ ।’ आफ्ना सन्तान पाँच कक्षाभन्दा माथि पढ्ने विकल्प नहुँदा शेर्पा समुदाय चिन्तित छन् । पाँच कक्षा उत्तीर्ण गरेपछि पढ्न पाङ्गर्पु आउनुपर्छ । जुन ठाउँ तेम्बाथाङबाट बिहानै हिँड्दा बेलुका मात्रै पुगिन्छ ।

तेम्बाथाङ सिन्धुपाल्चोकको ‘कर्णाली’ 
तेम्बाथाङ सिन्धुपाल्चोकको ‘कर्णाली’ हो । चुनावमा भोट हाल्नका लागि भने स्थानीय नेता अघिल्लो दिनमै तेम्बाथाङ पुग्छन् । बूढापाकालाई पहिल्यै हिँडाउँछन् । मत जाहेर गर्न पनि एक दिन हिँडेर गुम्बाथाङ आउनुपर्छ । यहाँ राज्यबाट उपलब्ध हुने सेवा–सुविधा पाइँदैन । पाँच कक्षा पढेपछि विद्यालय शिक्षा अन्त्य हुन्छ । स्वास्थ्य सुविधा छैन । गाउँमा पुग्ने बाटो नहुँदा भिरमा उम्रेका घाँस समातेर हिँड्नुपर्छ । गणतन्त्र आएपछि सिंहदरबारमा कैद सरकार गाउँगाउँ पुग्यो । तर, तेम्बाथाङमा कहिल्यै पुगेन ।

सदरमुकामबाट दुई दिनमा पुगिने यो गाउँको दुई सय घरमा ६ सय मानिस बस्छन् । जुगल गाउँपालिका–३ को सिरानमा पर्ने तेम्बाथाङ पुग्न वडा कार्यालय गुम्बाथाङबाट पूरा एक दिन लाग्छ । ब्रह्मायणी नदीको मुहान क्षेत्रमा जलमाफियाले आधा दर्जन हाइड्रोपावर स्थापना गरेर भिरपहरा खनेकाले जताततै पहिरो लागेको छ । हिँड्नलाई कतै बाटो छैन । हाइड्रोपावर कम्पनीले ब्लास्टिङ गर्ला थर्केको जमिन पहिरो बनेर ठाडो खोलालाई थुनेपछि यसपालि बर्खामा नेसम खोलामा झोलुंगे पुल बगायो ।

बर्खाभर स्थानीय गाउँमै कैद हुनुपर्‍यो । खोला तर्ने क्रममा गुम्बाका छिमिघ्याम्छो लामा बेपत्ता भए । उनको शव अझै फेला परेको छैन । दिपु र तेगामा बस्ने स्थानीयलाई तेम्बाथाङ आइपुग्न तेगा खोला तर्नुपर्छ । खोला तर्ने क्रममा पुसमा पासाङ लामु शेर्पा र नौ महिनाकी छोरी डोल्माछिरिङलाई खोलाले बगायो । कोरोनाविरुद्धको खोप लगाउने र माइतीमा एक रात बिताउने सपना साँचेर आएकी उनको २० वर्षको कलिलो उमेरमा खोलाले बगाएर मृत्यु भयो । ठाडो खोलामा गतिलो पुल नहुँदा बर्सेनि मानिस बगाउने क्रम रोकिएको छैन ।

गाउँपालिका महासंघ नेपालका अध्यक्षसमेत रहेका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, प्रदेश सांसद सरेश नेपाल र संघीय सांसद सभामुख अग्निप्रसाद सापकोटा तेम्बाथाङ कहिल्यै पुगेनन् । दैनिक जीवनमा परेका पीडा र समस्याबारे जनप्रतिनिधिले नै चासो नदिएपछि स्थानीय चिन्तित छन् । पर्यटन प्रवद्र्धनका लागि भन्दै जनप्रतिनिधि र पर्यटन व्यवसायी मिलेर जुगल हिमालको फेदैमा हिमाल चढ्ने फलामको बाटो (भिया फराता) बनाए । जुन दुई करोड लागतमा बनेको हो । तर, हिमालको फेदी नेपेमासाल पुग्ने बाटोमा झोलुंगे पुलसमेत छैन । सामान्य फलामको पुल नहुँदा बालबालिका, महिला र वृद्धवृद्धा एक गाउँबाट अर्को गाउँ जानबाट वञ्चित छन् । वडा कार्यालयबाट तेम्बाथाङ पुग्ने गोरेटो बाटो बनाइदिन गाउँ सरकारसँग स्थानीयले धेरैपटक अनुरोध गरेका छन् । तर, पूरा भएन । नयाँपत्रिका दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार