देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुन्धारास्थित मुसाफिर मदिनी मस्जिदमा अज्ञात समूहद्वारा तोडफोड

0

काठमाडौँ – काठमाडौँको सुन्धारास्थित मुसाफिर मदिनी मस्जिदमा तोडफोड भएको छ। शनिबार बिहान नचिनेको समूहले डोजर लगाएर एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन्।

निर्माणधीन धरहराको ठीकपछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ। मस्जिद भत्काइएपछि काठमाडौँमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन्।

मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए। यस अघिपनि पटक–पटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए।

यस घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ। मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिद माथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिम माथिको आक्रमण भएको बताए। यो मुसाफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो। यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन्।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार