देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुन तस्करसँग २५६ पटक संवाद गरेका महरा बाबुछोरा अनुसन्धानबाहिरै

0

काठमाडौं – विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा अझै अनुसन्धानको दायराबाहिर छन् । जबकि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत गरेको छैन ।

२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको अनुसन्धानबाट खुलिसकेको छ ।

भेप छुटाउनकै लागि चिनियाँ तस्कर वाङसँग महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेको तथ्य पनि पुष्टि भइसकेको छ । विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई पनि महराले सम्पर्क गरी ‘राहुल आउँछ, हेर्दिनुहोला’ भनेको स्रोत बताउँछ । राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिने अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेका छन् । यी सबैसहित महराका बाबुछोराले सुन तस्कर र यसको नेटवर्कमा रहेका गिरोहसँग समेत २ सय ५६ पटक संवाद गरेको प्राविधिक अनुसन्धानले पनि पुष्टि गरिसकेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन प्रकरण र महराका बाबुछोराको कनेक्सन खुलाइसकेको छ । सुन भएका भेप जफत गरेर भन्सारले गोदाममा राखेकामा पछि त्यहीँबाट चोरी भएको थियो । भन्सारका कर्मचारी, एजेन्टसहितको सेटिङमा सुन चोरी भएको पाइएपछि सीआईबीमार्फत यसको अनुसन्धान भएकामा चोरीमा संलग्न ९ जनामाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

तर, सुन ल्याउने गिरोहमाथि मुद्दा दायर त परैको कुरा, अनुसन्धानसमेत हुन सकेको छैन । भेपमा सुन ल्याउने चिनियाँ गिरोहका सदस्य वाङसँग आफ्नो पुरानै सम्बन्ध रहेको र भेप प्रकरणमा पनि चिनजानका हिसाबले सहजीकरण गर्न आफूले भन्सारका कर्मचारीलाई सम्पर्क गरेको महरा स्वयंले पनि स्वीकार गरिसकेका छन् । भन्सारले भेप नियन्त्रणमा लियो भनेर चिनियाँ व्यक्तिले भनेपछि आफूले कर्मचारीसँग कुरा गरेको उनले बताएका छन् ।

महराले वाङसँग फलफूल व्यापारीका रूपमा आफूले चिनेको दाबी गरेका छन् । तर, उनी सुन तस्करका नाइके भएको अनुसन्धानबाट खुलेको छ । उनी अहिले फरार छन् । सीआईबीले भेपभित्रको सुन चोरीमा संलग्नविरुद्ध यसअघि मुद्दा दायर भएको र अनुसन्धान अहिले पनि जारी रहेको जनाएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले भेपमा लुकाएर ल्याइएको सुन र गोदामबाट हराएको भेपभित्रको सुनसम्बन्धी छुट्टाछुट्टै विषय भएको भन्दै तस्करीबाट भित्रिएको सुन प्रकरणमा अनुसन्धान भइरहेको बताए । ‘भेपमा भित्र्याइएको सुन प्रकरणमा

अनुसन्धान जारी छ । तथ्य र प्रमाण संकलन तथा संलग्न अभियुक्तको खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘संगठित रूपमा तस्करी गरेको विषय भएकाले यसको नेटवर्कसम्म पुग्नलाई समय लागेको हो, सुन ल्याउने मुख्य गिरोह पक्राउ परेका छैनन् । घटना हुँदाताका सम्पर्क र भेटघाटमा भएका पक्ष हाम्रो निगरानी र नोटिसमा छन् । उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं ।’

भेपमा लुकाएर ल्याएको सुन प्रकरणलाई लिएर केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय, गृह मन्त्रालय र प्रहरीका उच्च अधिकारीबीच अनौपचारिक छलफल भएको थियो । त्यस क्रममा यो प्रकरणमा जोडिएका पूर्वसभामुख महरा, उनका छोरा राहुल र चिनियाँ तस्करलाई कारबाहीको दायरामा ल्याउने विषय पनि उठेको थियो । स्रोतका अनुसार केही दिनअघि तत्कालीन विमानस्थल भन्सार प्रमुख रहेका अर्थ मन्त्रालयका सहसचिव अरुण पोखरेलसँग सीआईबीले सोधपुछ गरेको छ । भेपमा लुकाएर ल्याएको सुन गोदामबाटै चोरिएपछि पोखरेलले नै सीआईबीलाई पत्र लेखी अनुसन्धान गर्न भनेका थिए । त्यसपछि पोखरेललाई नै जाहेरीकर्ता मानेर सीआईबीले चोरी र सुन तस्करीका छुट्टाछुट्टै कसुरमा अनुसन्धान गरेकामा चोरीमो मुद्दा यसअघि नै अदालतमा दायर भइसकेको छ ।

संगठित अपराधको अनुसन्धानकै क्रममा जाहेरीकर्तासँग साक्षीका रूपमा कागज गराइएको सीआईबी स्रोतको भनाइ छ । सीआईबीले सुन चोरी प्रकरणमा गिरोहसँगको नेटवर्कमा रहेका भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेसँग पनि कागज गराइसकेको छ । सहसचिव पोखरेलले सीआईबीसमक्ष चिनियाँले ल्याएको भेप नियन्त्रणमा लिइएपछि पूर्वसभामुख महराले फोन गरेर ‘छुटाउन सहजीकरण गर्न भनेको’ कागज गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले भेपको सुन चोरीसम्बन्धी सीआईबीको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको बताए । उनले संगठित रूपमा भएको चोरीको मुद्दा दायर गर्दा तस्करीबाट सुन भित्र्याउने समूहमाथि अनुसन्धानको बाटो खुलै राखिएकाले यो विषयमा सीआईबीमार्फत अनुसन्धान भइरहेको हुन सक्ने बताए । ‘भेपको सुन प्रकरणसँग दुईवटा छुट्टाछुट्टै अपराध आकर्षित हुन्छ । भेपको सुन चोरीका विषयमा मुद्दा अदालत पुगिसकेको छ । संगठित गिरोहले तस्करीबाट सुन ल्याएको विषयमा सीआईबीबाट अनुसन्धान भइरहेकै होला,’ नेउपानेले भने ।

चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट काठमाडौं आएका थिए । त्यस क्रममा ७३ बट्टामा ७ सय ३० थान भेपमा उनले करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । तर, जाँचपासका क्रममा सामान शंकास्पद देखिएपछि भन्सार गोदाममा राखेर अनुसन्धान अघि बढाएको थियो । करिब डेढ महिना सुन भएको भेप भन्सार गोदाममै थन्किएको थियो । त्यसपछि केही कर्मचारीलाई हातमा लिएर सुन ल्याउनेबाहेक अर्कै गिरोहले सुन भएका भेप चोरेर सुन व्यापारीलाई बेचेका थिए । भेपमा ल्याएको सुन करिब ८ करोड ५५ लाख रुपैयाँको देखिए पनि बेचबिखन गरी गिरोहले भागबन्डा लगाएर पैसा लिएका थिए ।

भन्सार स्रोतका अनुसार नियन्त्रणमा लिइएका भेप लिलामीको प्रक्रिया अघि बढाउनु अगावै एक व्यक्ति भन्सार पुगेर ‘यो खास किसिमको भेप हो, हामी आफैं सकार्छौं’ भनेका थिए । त्यस क्रममा भन्सार प्रमुख पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा मात्रै त्यसमा सुन लुकाएर ल्याइएको तथ्य खुलेपछि उनले थप अनुसन्धानका लागि केही शंकास्पद व्यक्तिसहितलाई सीआईबीको जिम्मा लगाएका थिए । तर, सीआईबीलाई अनुसन्धानको जिम्मा दिनु अगावै अर्कै समूहले कर्मचारीसँगको मिलेमतोमा सुन भएको भेप फुत्काएर अरू नै भेप गोदाममा राखेको पोल खुलेको थियो । त्यसको अनुसन्धान गर्दा मात्रै महरासँग सम्पर्कमा रहेको चिनियाँ गिरोह नै सुन तस्करीमा संलग्न रहेको खुलेको थियो ।

सुन भएको भेप भन्सारले नियन्त्रणमा लिएपछि दुबईबाट आएको तेस्रो दिन ली पुस १३ मा विदेश भागिसकेका थिए । अर्का एक चिनियाँ गत वैशाख १५ मा विदेश भागेको अनुसन्धानबाट खुलेको छ । तस्करीको सुन व्यवस्थापन जिम्मा पाएका गिरोहका अर्का सदस्य चिनियाँ नागरिक, सुन व्यवस्थापन गर्न काठमाडौंमा रहेका अरू तीन चिनियाँ र उनीहरूका सहयोगीसमेत अहिले फरार रहेको सीआईबी स्रोत बताउँछ । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार